एक सातायता ८९ प्रतिशत संक्रमणमुक्त, निको हुने क्रम बढ्दो


१० आश्विन २०७७, शनिबार
korona

काठमाडौं, १० असोज । कोरोना संक्रमितहरू निको भएर घर फर्कने क्रम बढ्दै गएको छ । पछिल्लो एक साताको तथ्यांकलाई आधार मान्दा एक सय जना संक्रमितमध्ये ८९ जना निको भएर घर फर्किएका छन् ।

गत ३ असोजदेखि शुक्रबारसम्म ९ हजार २१ जना संक्रमित थपिएकामा ८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । यसरी हेर्दा प्रत्येक एक सय जना संक्रमितमा ८९ जना संक्रमणमुक्त भएको पुष्टि हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएकामा १ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, हालसम्म कुल संक्रमितलाई आधार मान्दा १ सय जनामा ७३ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किने गरेका छन् । हालसम्म ७० हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत् ५१ हजार ८ सय ६६ जना निको भएर घर फर्किएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ जना रहेको छ ।

देशभर शुक्रबार १ हजार ३ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार मात्रै १२ हजार २ सय ६२ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९ सय ७४ पुगेको छ । यस्तै, शुक्रबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ ।

मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ र कपिलवस्तुमा ७० वर्षीया महिलाको मृत्यु भएको छ । नेपालमा मृत्युदर शून्य दशमलव ६५ प्रतिशत छ ।

यस्तै, देशभर २ सय ६६ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३९ जना भेन्टिलेटरमा र २ सय २७ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ सय ३५ जना आईसीयू र ३४ जना भेन्टिलेटर, प्रदेश ५ मा ३९ जना आईसीयू र दुई जना भेन्टिलेटरमा, प्रदेश १ मा ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यस्तै प्रदेश २ मा १९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १७ जना आईसीयूमा उपचाररत रहेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७