डब्ल्युएचओ भन्छ, ‘खोपको व्यापक प्रयोगअघि नै कोरोनाबाट २० लाखको ज्यान जान सक्छ’


१० आश्विन २०७७, शनिबार
who

काठमाडौं, १० असोज । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसविरुद्धको खोप व्यापक प्रयोग अघि नै झण्डै २० लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ ।

डब्ल्युएचओका आपतकाल विभाग प्रमुख माइक राइनले अन्तर्राष्ट्रिय एकता बिना कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या सोचेभन्दा धेरै हुने बताएका छन् । कोरोना सङ्क्रमणका कारण अहिलेसम्म झण्डै १० लाख मानिसको ज्यान गइसकेको छ ।

उत्तरी गोलार्धमा जाडो महिना शुरु हुन थालेसँगै कोरोना भाइरसको दोस्रो लहर शुरु हुन थालेको बीबीसीले जनाएको छ । अहिलेसम्म अमेरिका, भारत र ब्राजिल गरी तीन देशमा मात्रै एक करोड ७८ लाखमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

अमेरिकामा ७२ लाख ३३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख ८ हजारको ज्यान गएको छ । यस्तै ५९ लाखमा कोरोना पुष्टि भएको भारतमा ९३ हजारको ज्यान गएको छ । ब्राजिलमा ४६ लाख ८९ हजारमा कोरोना पुष्टि भएको छ भने एक लाख ४० हजारको ज्यान गएको छ ।

अहिले विश्वभर ३ करोड २७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ४१ लाख निको भएका छन् भने ९ लाख ९२ हजारको ज्यान गएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७