बादलले छोपेको जून (कथा)


१० आश्विन २०७७, शनिबार
bhawana

देशमा चलिरहेको कोरोना भाइरसका कारणले देशमा बन्दाबन्दीको अवस्था थियो । बल्ल बल्ल छ महिनापछि खुलाएको सार्वजनिक यातायात।घर बस्दा बस्दा बेचैनिको अवस्थामा पुगेको म सार्वजनिक बसमा इलामबाट डबल भाडा तिरेर यो अस्तव्यस्त सहरमा आइपुगें । गाडीले बाफलमा उतारिदियो । मलाई पुग्नु थियो कीर्तिपुर नयाँबजार।

म यो देश नेपालकी छोरी, ठूलो सपना बोकी यो खाल्टोमा आफ्नो सपनाको संसार खोज्न आएकी । आफ्नो संसार खोज्न नपाउँदै कोरोना महामारी र लकडाउने खलबल्याएको दिमाग बोकि म बल्खु जाने गाडीमा चढे । बल्खुबाट नयाँबजार जाने गाडी चढे । रातभरि बसमा हिँडेकोले अस्तव्यस्त कपडा, लतपतिएको मेकअप, निन्द्रालु आँखा,गलेको जिउ, भोको पेटसँगै भारी मन बोकी कीर्तिपुर नयाँबजार उत्रे । साथमा थियो एउटा सानो झोला । नयाँबजारबाट सिधै म कोठातर्फ गएँ ।

कोठामा पुगें । ६ महिनाबाट छोडेको कोठा धुलोले भरिएको थियो । मैले छोड्दा जस्तो थियो त्यस्तै नै थियो कोठाको रूपरेखा । भित्तामा माकुराको जालो भरिएको थियो कहीकतै अरू जस्ताको तस्तै । लामो बाटो पार गरेर आएको भए पनि मनमा भोक थिएन । मनमा निरन्तर झरी परिरहेको थियो ।

म जुन घरमा थिएँ त्यो घर घर जस्तो थिएन । जहाँ मैले २२ बर्ष काटें तर घरको जस्तो अस्तित्व भेटिनँ । मनमा बिगतका भोगाईको भुइचालो गइरहेको थियो । झोला बेढङ्गले खाटमा फालें । केही गर्ने उत्साह थिएन । किचन र्‍याकबाट झिकेर दिउरे माझें । पहिले भरेर राखेको पानी त्यतिकै रहेछ । त्यही पानीमा चिया बसालें । खाटको तन्ना फेरेर चिया खाँदै खाटमा ढल्के । मनस्पटलमा बिगतका भोगाइको स्मरणले डेरा जमाउँदै गयो । उतारचढावहरू छाल बन्दै मष्तिष्कमा आए ।

इलाम, पूर्वी पहाडको एउटा स्वर्गको टुक्रा भन्छन् मान्छेहरू । त्यही पहाडी जिल्लाको एउटा सानो गाउँ मेरो जन्मस्थान । म जन्मेको हुर्केको ठाउँ । जहाँ मेरो बालापन बित्यो अनि भनौँ जवानी पनि ।

म जन्मेको २०५४ सालमा दुई जना दिदीपछि । सायद मेरो बुबा मम्मीलाई तेस्रो सन्तान छोराको आश थियो तर म पनि छोरी नै जन्में । जन्मिनुमा त मेरो दोष थिएन तर समयले मलाई दोषी देखायो । मलाई पलपल सजाय दिइयो । यहि गाउँमा मैले कखरा सिके । त्यहि गाउँमा थियो मेरो छ जनाको परिवार अनि हाम्रो मध्यमवर्गीय परिवार । म घरकी कान्छी छोरी । जेठी दिदीसँग मेरो सात वर्षको उमेरको फरक थियो र माइली दिदीसँग चार वर्षको । हजुरआमा, बुबा अनि मम्मी गरी छ जनाको परिवार थियो हाम्रो । मेरो बुबा प्रा.वि स्तरको सरकारी शिक्षक । मम्मी गृहिणी । मम्मी भने निरक्षर हुनुहुन्थ्यो ।

त्यसो त हाम्रो वंश केलाउनु भने सबै आफन्तको हाँगा त मलाई पनि थाहा छैन ।कारण हजुरबुबाले पाँच जना बिहे गर्नुभएको रे । त्यसमा हामी चाहिँ जेठ्ठी पट्टिको नातिनीहरू परेछौ । मेरो बाल्यकाल यहि गाउँमा बित्यो खोलानाला चाहारेर । जामा लगाएर साथीहरूसँग ऐंसेलु, अम्बक, नासपाती खान अनि काँक्रा र फलफूल चोर्न कुद्थ्यौ । निष्फिक्री थियो जीवन । खुब रमाइला थिए ती दिनहरू । दिदीहरू घरमा हुँदा सानोमा हजुरआमासँग बुढोमावल जान्थे । खुब रमाइलो लाग्थ्यो दशैं । आज त्यहि दशैं नआई दिए हुन्थ्यो जस्तो लाग्छ । समयले हामीलाई कति छिटो परिवर्तन गराईदिन्छ अजि समयसँगै परिवर्तन हुन्छन् इच्छा चाहना र आकांक्षाा पनि ।

भनिन्छ जबसम्म घरमा शान्ति हुँदैन तब घर घरजस्तो हुँदैन । सिरानीमा पैसा राखेर सुत्ने मान्छे पनि रातभर निदाउँदैन् तर दुई छाकको रोटी शान्तिले खाने मान्छेलाई आनन्दको निद आउँछ । आजको यो पैसाको दुनियाँमा पैसाको पछि कुद्ने मान्छेहरूले आफूलाई नै पैसा बनाइसके जहाँ केवल स्वार्थ, बेचैनी र अहंकार छ जहाँ सम्बन्ध छैन र आफ्नोपन छैन । हुन त हाम्रो परिवार मध्यमवर्गीय परिवार थियो । खेतीपाती थियो । खान लाउन समस्या थिएन तर जब मैले आँखा खोले जब ममा चेतना देखिन थाल्यो तबबाट मेरो जीवनमा यस्ता घटनाहरू घटे जुन प्रत्यक्ष रूपमा बाल मनोविज्ञानसँग जोडिएको छ र अनि मेरो बिगत, वर्तमान र भविष्यसम्म पनि ।

पारिवारिक जीवनको साक्षत्कार त्यो किसिमले भयो जुन थोरैको मात्र हुन्छ सायद । मैले आज २२ बर्ष पुग्दासम्म जीवनलाई त्यो किसिमले साक्षात्कार गरेँ त्यो सायदै बिरलैले गर्लान् । गरिबीको रेखाले किचेको पनि हैन तर पनि मैले सधै एउटा तनाव, डिप्रेसन र डरको मात्र अनुभव गरिरहे । टुहुरो हुनु अभिषाप भन्छन् तर म भन्छु मान्छे सानैमा टुहुरो भयो भने बरू आफ्नो जिन्दगीको साक्षात्कार आफै गर्न सिक्छ ।

परिवारभित्र भएर पनि पलपल टुहुरो महसुस हुनुभन्दा वास्तविक टुहुरो हुनमा मज्जा छ । न कसैको डर न दबाब । आफ्नो जीवनसँग आफैले साक्षात्कार त गर्न पाइन्छ । अनि कसैलाई दोष दिने ठाउँ पनि रहँदैन । मेरो जीवनमा पनि यस्ता घटनाहरू घटे जसलाई सम्झँदा आज पनि मनको एक कुनामा चसक्क घोच्छ । आँखा रसाउँछ । हरेक व्यक्तिको भोगाई फरक हुन्छ ।त्यसैले पनि हरेक व्यक्तिको व्यक्तित्व आफैमा फरक हुन्छ ।

हाम्रो नेपाली समाज, जहाँ छोरी हुनुमा आज पनि मुख कालो बनाइ्छ । ‘छोरो जन्मे खसी, छोरी
जन्मे फर्सी’ भन्ने उखान आज पनि हाम्रो । समाजमा लागू हुन्छ । हाम्रो समाज यति कुसंस्कारले भरिएको छ कि जसफे हाम्रो समाजलाई एउटा लक्षमण रेखाको सीमाभित्र सीमित गरेको छ । यहाँ मान्छे आफ्नो लागि भन्दा पनि समाजको लागि बाँच्नुपर्छ । मेरो जीवनमा पनि यस्ता सामाजिक सोचको असर प्रत्यक्ष पर्‍यो । त्यसै त जटिल जीवन त्यसमाथि सामाजिक सोचले झन् कुण्ठित बनाइदियो ।

ममा सानैबाट चञ्चलता थियो । ममा एउटा उत्सुकता थियो मनभरि प्रश्नहरू भरिएका थिए तर गाउँमा प्रश्न सोधे धेरै बोल्छे धेरै बोल्नु हुन्न भन्ने गरिन्थ्यो । अर्कोतर्फ परिवारमा जताततै भयको वातावरण थियो । परिवारभित्र म गुम्सिन्थे ।हाम्रो परिवार परम्परागत हिन्दू समाजको उपज थियो । हजुरआमा पुजापाठमा ध्यान दिने । हजुरबुबा झापातिर बस्नु हुन्थ्यो । अर्कोतर्फ बुबा धर्मकर्म नमान्ने ।

बुबाको मादक पदार्थ सेवन गर्ने आदत थियो । त्यसपछि घरमा आउने झगडा गर्ने । जब मैले आँखा खोलेँ तबबाट घरमा यस्तै वातावरण थियो । घर झगडा गर्ने, कुटपिट गर्ने यस्तै कोलाहलले भरिएको थियो घर । जहाँ म पलपल कुण्ठित हुन्थेँ, निसासिन्थें । बाहिरका कुरा बरू सजिलै नदेखेझै गर्न सजिलो हुन्छ तर आन्तरिक कुराहरूले मन भित्रभित्रै खान्छ र खोक्रो बनाउँछ । न त कसैलाई बताउन नै सकिन्छ । अन्त्यमा सार्है पारेपछि मात्र देखिन्छ कोरोना भाइरसलेझैं ।

अर्कोतर्फ दिदीहरू र मेरो उमेर फरक भएकाले उहाँहरू पनि मसँग त्यति घुलमिल नहुनु हुने । म त सानै थिएँ । तर परिवारमा जस्तो भए पनि सानैबाट मेरो पढाइ भने राम्रो थियो । कक्षा आठसम्म गाउँकै स्कुलबाट लगातार प्रथम हुँदै पास गरें । लगभग म कक्षा छ सात मा पढ्दा हो जेठी दिदीको स्नातक पढ्ने समय भयो र मंगलबारे गई अध्ययन गर्न थाल्नु भयो । उहाँ घरबाट बाहिरिसक्नु भएको थियो । घर बेलामौकामा मात्र आउने । कक्षा नौबाट म अर्को विद्यालय अध्ययन गर्न गएँ । घरबाट आधा घण्टाको बाटो हिँडेर स्कुल जानुपथ्र्यो । म कक्षा नौ मा पढ्दै गर्दा माहिली दिदीले कक्षा १२ को परीक्षा लेख्नुभएको थियो । त्यसपछि उहाले आफैँ बिहे गर्नु भयो ।

त्यसपछि घरमा बाँकी रहें म मात्र बुबा ममी र हजुरआमाको साथमा । हुन त आज म मास्टर्स गर्न काठमाडौ आएको छु तर पनि परिवारमा त्यति नै सदस्य छौं । छोराबिहीन परिवारलाई हेर्ने समाजको नजर नै अर्कै हुँदोरहेछ । अझ हाम्रो हिन्दू परिवार । समाजको सोचको असर मेरो परिवारमा पनि परेको थियो । घरमा यही कारणले पनि धेरै झगडा हुने गर्दथ्यो । दिदीहरू पनि नभएपछि यही वातावरणमा मा तेर्ह चौध वर्षको उमेरबाट समायोजन गर्ने प्रयास गरिहेको थिएँ तर कति रात रोएर बित्थे ।

घरमा बुबाले झगडा गर्न थालेपछि सबै घरबाट भाग्ने।म पनि भाग्थे तर कहाँ जानू ? रातभरि जंगलमा बस्थे । डरको सीमा रहन्थेन । बिहान उठ्यो लुकिछिपी खाना बनायो खायो र स्कुल गयो । यसरी नै मेरो जिन्दगी चल्दै थियो । म सानैबाट साहित्यका किताबहरू अध्ययन गर्दथे । अझ दिदीहरू पनि नभएपछि त मेरो एक्लोपनको साथी नै साहित्यका किताबहरू बनिदिए । एक्लोपन भगाउन मनलाई शान्त गर्न म साहित्य पढ्दै गएँ । साहित्यले मलाई संसार देखाउँदै गयो ।

जतिजति उमेर बढ्दै जान्छ उतिउति जिम्मेवारी बढ्दो रहेछ साथै पढाईको लेभलसँगै अनेक समस्या र तनाव पनि । पढाइ, यो शब्द आफैमा जटिल छ । मेरो सामु एउटा चुनौती खडा थियो अब । कि त मैले घरको यहि वातावरणमा एक्लै आफ्नो भविष्य बर्बाद गर्नुपथ्र्यो कि त आफै हिम्मत देखाएर अगाडि बढ्नु । तर जताततै खाडल मात्र थिए । दिदीहरू पनि नभएकाले घरको कामहरू पनि भ्याउनु पथ्र्यो । समाज त त्यहि न हो अरूलाई समस्या परे ताली बजाउने । यस्तै यस्तै वातावरणमा पनि मैले कक्षा नौ पहिलो श्रेणीमा उत्तीर्ण गरें ।

कक्षा दशको एएलसी जसलाई फलामे ढोका भनिन्थ्यो । आज एसइइ भएको छ । कडा मेहनतको जरूरी पथ्र्यो । तर मेरो लागि यो ठूलो चुनौती थियो । बुबा बिहानै पढाउन स्कुल जानुहुन्थ्यो तर बेलुका घर आउँदा मादक पदार्थ सेवन गरेर आउने । त्यति बेला जेठी दिदी भने काठमाडौ बसेर त्रिभुवन विश्वविद्यालयमा मास्टर्स गर्दै हुनुहुन्थ्यो । छोराछोरीमध्ये म मात्र थिएँ घरमा ।
मेरो मम्मीलाई खाना बनाउन त्यति आउँदैन थियो ।

घरभित्रका अन्य सानातिना कामहरू पजि त्यति जान्नु हुन्थ्यो र जान्न रुची पनि नराखे जस्तो । हुनसक्छ त्यो बेला, ऊबेलाको समाजमा पन्ध्र बर्षमा बिहे गरेर आउँदा सासुहरूले बाहिर मात्र सिकाए घरभित्र सिकाएनन् । फेरि घर बाहिरको धन्दा पनि उत्तिकै हुने हाम्रो घरमा । खेतीपाती, गाईबस्तु, थला भकारा । त्यसैले त्यसपछिबाट चुलो भान्छाको जिम्मा ममाथि आयो । स्कुलमा कोचिङ र ट्युसनको धमाधम थियो । बिहान सात बजेबाटै कोचिङ पढ्नु पर्ने । अनि दिउँसोको स्कुल अनि बेलुका क्लास सकेर फेरि कोचिङ ।

आज लाग्छ त्यो नै मेरो जीवनको ठूलो परीक्षा थियो । म बिहान चार बजे उठेर खाना बनाउँथे । अनि त्यसलाई बट्टामा बोकेर लान्थे । सात बजेको ट्युसन भ्याउने गरी । तर खाने बेलामा एघार बज्थ्यो । घरामा खाना बनाएर पठाईदिने मान्छे थिएन । साथीहरू तातो खाना खाँदा सँगै बसेर चिसो खाना खानु मेरो बाध्यता थियो रहर कतै थिएन । आखिर मलाई पनि त आश हुन्थ्यो एक सुन्दर परिवारको मायालु साथको तर त्यो कतै थिएन । घरको त्यही वातावरण र तनावका बीच म हरपल आफूलाई खोज्दै थिएँ डरै डरको बीच, असम्भवलाई सम्भव बनाउने र चुनौतीमा आशा खोज्ने प्रयासमा प्रयासमा । त्यतिकैमा सेन्टअप आयो । लेखें । राम्रै भयो ।

दिदीले बिहे गरिहाल्नु भयो त अब । मेरो परीक्षाको बीचमै बोलाएर टिकाटालो गरिदिने निर्णय भएछ । मेजर अंग्रेजीको परीक्षामा तीन दिन छुट्टि थियो । त्यहि बीच बिहे हुने भयो । भिनाजुको स्कलरसिपमा अमेरिका हुनु भएकाले एक वर्षको छुट्टीमा घर आउनु भएको रहेछ । बिहे गरेर म्यारिड कपल अमेरिका जाने हुनुभएको रहेछ । साइनो मिचेर बिहे गर्न हुँदैन भन्नुहुन्थ्यो हजुरआमा । म यस्ता कुरा बुझ्दिनथें ।

पछि बुझे दिदी र भिनाजुमा आफन्तको साइनो पर्दो रहेछ । यस्तोमा बिहे गर्नु हुँदैन भन्दा रहेछन् बुढापाकाहरू । बिहेका लागि म घर आएँ । बिहे सकेर गएर परीक्षा पनि लेखें । १२ सकेपछि फेरि घर बस्नुपर्ने भयो । घरमा अझै पनि उहि अवस्था थियो । ममा पुन उहीं लक्षणहरू देखिन थाले टोलाउने, तनाव मात्र हुने । तसर्थ मैले केही महिना गाउँकै विद्यालयमा कक्षा आठसम्म पढाउन थाले ।

१२ को पनि रिजल्ट आयो दशैअगाडि । प्रथम श्रेणीमा पास भएँछु । कक्षा ११ मा पनि प्रथम थियो । ट्रान्सकिप्टमा पनि प्रथम श्रेणी पुग्यो । म स्नातक तह पढ्नको लागि इलाम बजारस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम भर्ना भए । स्नातकको पढाइ आजसम्मको भन्दा धेरै । जटिल हुनेवाला थियो जसबारे म अनभिज्ञ थिएँ । घरको अवस्थाले गर्दा कोठामा बसेर पढ्न सक्ने अवस्था भएन ।

हाम्रो घरबाट इलाम बजार बजार पुग्न गाडीमा २० मिनेट लाग्थ्यो भने हिँडेर अढाई घण्टा । गाडीमा एक पटकको ५० रूपैँया पथ्र्यो भने जाँदाआउँदा दिनमा सय रूपैँयाँ । बुबाको त मलाई पढाउने त्यति इच्छा थिएन तर मेरो जबरजस्तीले गर्दा पढेकाले अब आउने चुनौती मैले आफै भोग्नु थियो । विद्यार्थी मान्छे सधै पैसाको अभाब । फेरि आर्थिकका लागि पुरै बुबामा भर पर्नुपर्ने अवस्था थियो । हामी यताबाट जाने छ–सात जना साथी थियौ । कलेज दिउँसोको थियो । म बिहान उठेर खाना बनाएर खाएर अढाई घण्टाको बाटो भ्याएर कलेज पुग्थें ।

हुन त अरू साथी पनि थिए तर हामी हुर्केको वातावरण फरक थियो, भोगाई फरक थियो । मुख्यतः मेरो भोगाई भिन्न थियो । दिनभर हिँड्दा बेलुका थकान महसुस हुन्थ्यो । पढ्न मन नलाग्ने । म त्यो वातावरणमा थिएँ जहाँ अवसर र आशाको थोरै त्यान्द्रो पाउन पनि गाह«ो थियो ।

त्यहि समय म स्नातक प्रथम वर्ष पढ्दै गर्दा हाम्रो कान्छी फुपूलाई क्यान्सरको बिराम लाग्यो । उहाँको घरबाट गाडिको समस्या हुने हुँदा यतै राख्यौ । कहिले यता, कहिले उताबाट उपचार गराउँदै थियौँ । मेरो जिन्दगी बदलिरहेको थियो । सोचे जस्तो त पटक्कै थिएन । पलपल तनाव बढ्दो थियो तर घरमा भने केही बदलिएको थिएन । बुबा नशा गर्नेे अझै पनि ।मेरो कलेज पनि भ्याउनुपर्ने हिंडेर । म बिहान उठेर खाना बनाएर खाएर, कोहि बेला घरमा पनि दिएर क्लास भ्याउने गरी कलेज हिंड्थें ।

मलाई त्यहि समय नेपाल इङ्गलिस लेन्गवेज टिचर एसोसिएसन (नेल्टा), मरब क्याम्पस इलामको स्पिकर छानिएको थियो । तर बैठक कहिले बिहानै, कहिले कुन समय, कहिले कुन समयमा बोलाइने हुँदा मलाई समय दिन गाह्राे भयो र अर्कैलाई गर्न भनिदिएँ । फेरि हामी चार वर्षे स्नातकको विद्यार्थी । हाम्रै पालाबाट चार वर्षे बनाएको थियो । बजारमा किताब परीक्षा अगाडि मात्र आईपुग्थ्यो । पाठ्यक्रम परिवर्तन गरेको थियो । सरहरू भन्नुहुन्थ्यो पहिले वार्षिक प्रणालीमा हुने मास्टर्सको कोर्ष चार वर्पे ब्याचलरमा हालेको छ । फेरि मेरो माइनर विषय राजनिति विज्ञान, जसको न त बजारमा किताब पाउँथ्यो न त लाईब्रेरीमा किताब थियो । सरले पढाएको नोटको भरमा पूर्ण निर्भर रही परीक्षा लेख्नुपर्ने ।

यता घरमा अकल्पनीय वातावरण थियो उच्च तनाबको । यस्तै बित्दै जाँदा कात्तिकबाट बिरामी फुपूको चैत्रमा निधन भयो । भदौमा स्नातक प्रथम वर्षको परीक्षा हुन्थ्यो । झरी पानी हुरी बतास सहँदै अढाई घण्टा हिँडेर हामी कलेज पुग्थ्यौ । घरमा कोही पाहुना आए छिटो आउने सूचनासहित फोन आउँथ्यो घरबाट ।

अनि त्यसमाथि बुबाको नसा गर्ने र झगडा गर्ने गर्नाले म पागल बन्थे । घरको त्यही वातावरणको बीच मैले पढेर त्यही वातावरणमा घरबाटै स्नातक प्रथम वर्षको परीक्षा लेखें । शिक्षाशास्त्र संकाय सैद्धान्तिक किसिमको हुने हुँदा लेखेर अंक ल्याउन धेरै गाह्राे थियो । फेरि समयको अभाव राति बढि अध्ययन गर्नुपर्ने । बिजुलीको सुविधा भएता पनि जाने आउने टुङ्गो हुन्थेन । पानी पर्न थाल्यो कि बिजुली जाने समस्या आज पनि छ ।

परीक्षा सकियो । दशै आयो । यो वर्षबाट त दिदी पनि दशैमा काठमाडौबाट आउनुहोला भन्ने थिएन । त्यसपछिका सबै चाडपर्वहरू मैले सम्हाल्नु थियो । हाम्रो फेरि मूल घर । काम धेरै हुन्थ्यो । घरका लागि आफ्ना इत्छा,चाहनाहरू दबाउनु पथ्र्यो । दशै हैन दशा आए जस्तो लाग्थ्यो हरेक दशै तिहारमा बुबा नसा गर्ने । परिवारमा सदस्यको पनि कमी । फेरि म पढ्दै गरेकी केटी ।

कहिले दशैपछि परीक्षा हुने रूटिन आइदिन्थ्यो । कहिले परीक्षाका बेला घरमा श्राद्ध, तीज जस्ता चाडपर्व परिदिन्थ्यो । सबै कुरासँग आफू एक्लै प्रत्यक्षीकरण गर्नुपथ्र्यो । मेरा आजसम्मका दशै पनि यसरी नै बितिरहेका छन् । नचाहेर पनि ओठमा मुस्कान ल्याउनुपर्ने अवस्था । रमाईलो त शब्दमा नै सीमित । यता अर्कोतर्फ शिक्षाशास्त्र संकाय पढ्नेले आयोग भिड्न लाइसेन्सको परीक्षा लेखेर लाइसेन्स निकाल्नु पथ्र्यो । तर हाम्रो पालामा चार वर्ष लाइसेन्स खुलाएन ।

सबैभन्दा ठूलो कुरा मान्छेको इच्छा रहेछ । मेरो पढ्ने इच्छाले मलाई पछि जस्तै परिस्थितिमा पछि हट्न दिएन । स्नातक दोस्रो वर्ष पनि यसरी नै चल्दै गयो । आफ्नै गाउँबाट भने कलेज जाने साथी थिएनन् । आधा घण्टा–रएक घण्टा हिँडेपछि बल्ल भेट हुन्थ्यो साथीसँग । पढाईको स्तर बढेसँगै पढाइ जटिल बन्दै गयो ।

यता मेरो समय पनि अझ जटित बन्दै गयो । पढाईका लागि म थोरै समय मात्र छुट्याउन पाउँथेँ । राति दुई बजेसम्म पनि पढ्नुपर्ने अवस्था आउँथ्यो घरमा । तर घरको वातावरण त्यो हुँदैन कि राति दुई बजेसम्म पढेर बिहान नौ बजे उठ्दा होस्, कोठामा बसेर पढे जस्तो । बिहान छ बज्दा उठ्नुपर्ने । घरको काम भ्याएर खाना बनाएर खाएर हिँडेर कलेज भ्याउनुपर्ने दिनहुँको रूटिन बनेको थियो । त्यत्तिकैमा फागुन अन्तिमको कुरा हजुरबुबा बिरामी हुनुभयो । प्रेसरले हानेको रहेछ ।

टाउकोको नसा चुटिएछ । धरानपछि काठमाडौ रेफर गरेको थियो । दुई दिनपछि काठमाडौमा उहाँको मृत्यु भयो । हजुरबुबा झापा बस्ने हुँदा दाहसंस्कारका काम सबै उतै गर्ने निर्णय भयो । घरबाट मबाहेक सबै झापा जानुभयो । अब घरको कामको पूर्ण जिम्मेवारी ममाथि थियो । माइली दिदीलाई बोलाएँ तर उहाँ छ दिनपछि मात्र आउनुभयो । छ दिनसम्मम घरको काम एक्लै भ्याएँ राति भने साथस् आउँथी ।

उता मेरो कलेज लागिरहेको थियो । म एक महिना जति कलेज गइनँ । साथी थिई स्नातक पहिलो वर्ष पढ्दै गरेकी । उसैलाई कलेजबाट कापी मागेर ल्याउन लगाई राजनीति विज्ञानका दुई विषयको नोट भने बनाउँथे । घरको सारा काम गर्नुपर्ने, नुन पनि बार्नुपर्ने आदि कुराले म आफू शारिरीक रूपले पनि कमजोर हुँदै थिएँ ।

त्यहीबीच प्रथम वर्षको रिजल्ट आयो । मेरो सेकेन्ड डिभिजन आएछ । ५० प्रतिशत र ६० प्रतिशतको बीचको परसेन्ट थियो । नराम्रो लाग्यो । तर खुसी कहाँ थिएँ भने म नै क्लासको टपर थिएँ । रिजल्ट मैले फेसबुकमा पोस्ट गरे तर अमेरिकाबाट दिदीले । रिजल्टबारे भनेका तिता शब्दहरू सम्झिदा अझै पनि मन अमिलो हुन्छ । त्यतिबेला थाहा भयो भोगाई फरक भएपछि आफ्नैले पनि आफ्नैको पीडा बुझ्न सक्दैनन् चाहे एउटै कोखबाट जन्मेको किन नहोस् ।

स्नातक दोस्रो वर्षको परीक्षा लेखे तर यस पटक मनमा ईख थियो । यस बर्ष हजुरबुबाको कामको वर्ष नपुगेकाले गर्दा बुबाले नसा गर्नु भएन । स्नातक दोस्रो वर्ष प्रथम श्रेणी आयो । तर घरको समस्या झनझन जटिल बन्दै थियो । हजुरआमाको उमेर ८० कटेको थियो । बेलाबखत बिरामी भइरहने । अरू समस्या ज्यूकात्यू थिए । दिदीलाई सम्झन्थे बेलाबेला ।

सायद लाग्छ छोरा नभएको घरमा छोरीले जुन भूमिका निर्वाह गर्नुपथ्र्यो त्यसबाट उहाँहरू टाढा भाग्न खोज्नु भयो । दिदी अमेरिका बसेर घरको बारे त्यो विश्लेषण गर्नुहुन्थ्यो जुन वातावरण उहाँले छोड्दाका बखत थियो । समय सँगसँगै मान्छे जवान हुन्छ, बूढो हुन्छ, सबै कुरा जटिल बन्दै जान्छ भन्ने अनुभव थिएन सायद । यसमा मेरो पनि मत मिल्थेन । टाढा बसेर बोल्नु र अगाडि बसेर सामना गर्नुमा आकाश पातालको फरक हुन्छ ।

स्तानक तेस्रो वर्ष, समय बित्दै गयो । केही समयसम्म हिँडेरै कलेज गयौ । त्यसपछि भने गाडीमा जाने आउने गर्याै । तर खर्चले समस्या गराउँथ्यो । सायद लाग्छ छोरा नभएको खण्डमा छोरीहरूबाट बुबालाई आश थियो तर त्यो पनि नभएको खण्डमा दिदीहरूको कुरा लिएर ममाथि खनिने क्रम शुरू भएको थियो घरमा । कतै बाहिर गए फोन उठाउन नपाए, फोन स्विच भईहाल्यो भने भए घर आउँदा गाली खानुपथ्र्यो ।

उहाँको भनाई अनुसार दिदीहरूले जस्तै म पन भागेर बिहे गर्न सक्थेँ रें । हाम्रो समाजमा दाजु दिदीले गल्ती गरे त्यही गल्ती भाइबहिनीले पनि गर्छन् ,सबै एउटै हुन्छन् भनी मूल्याङ्कन गर्ने गरिन्छ । कुन्नि कहिले आउने हो सोचमा परिवर्तन । कहिले आउने हो हरेक व्यक्तिमा व्यक्तिगत फरकपन हुन्छ भन्ने चेतना । यसैगरी मैले स्नातक तेस्रो वर्ष रूटिन पालना गर्दै पढ्दै गएँ । परीक्षा पनि आयो तर अकस्मात यस्तो घटना घट्यो जुन मैले सोचेको थिइनँ ।

हजुरबुबाको मृत्युपछि नसा नगर्नु भएको बुबाले मेरो स्नातक तेस्रो वर्षको अन्तिम परीक्षाको पहिलो दिन नै नसा गर्नुभयो । घरमा पुनः तनावको वातावरण बन्यो । पहिलो दिनको परीक्षा त लेखें तर सोचेर लेख्न सकिनँ । दोस्रो विषयको परिक्षा थियो । एक दिन पढ्ने छुट्टि थियो । बुबा पुरै नसामा हुनुहुन्थ्यो । घरमा कलहको वातावरण । मैले पढ्न सकिनँ । अबको परीक्षा मेजर अंग्रेजीको थियो र विषय पनि जटिल थियो । त्यो दिन घरमा ठूलो झगडा भयो । घरमा बस्न सक्ने स्थिति कसैको भएन । म साथीकोमा गएर बसें । पढ्न पनि सकिनँ । यति रोएँ रातभरि रोएँ । बिहान साथीकोमै खाना खाएर सुनिएका आँखा लिएर कलेज गएर परीक्षा लेखें । तर दिमाग ठेगानमा थिएन । यसरी एवम् क्रमले तेस्रो वर्षको परीक्षा तनावमै लेखिसकें ।

स्नातक चौथो वर्ष, स्नातक तहको अन्तिम वर्ष ।
यो वर्ष प्राक्टिकल बढी गर्नुपथ्र्यो । यो बेला हजुरआमा बिरामी हुने क्रम बढेको थियो । बुबाले नसा सेवन गर्नु हुन्नथ्यो तर नसा नगर्दा पनि सानो सानो कुरामा कराईरहने, गल्ती बिना कराईरहने घरमा झगडा गरिरहने गर्नु हुन्थ्यो । एक किसिमको आदत जस्तै थियो । बुबा मम्मीको कलहको बीचमा मकैमा घुन पिसिएझैँ पिसिन्थें आज पनि पिसिन्छु । घरको वातावरणले म दिक्क हुन्थे ।
घरको काम गरेर कलेज जएर पढ्न पर्ने ।

चौथो वर्षमा ‘रिसर्च मेथोडोलोजी इन इङ्लिस एजुकेसन’ जुन विषयको पाठ्यघण्टी हप्ताको नौ पिरियड थियो । जसको ५० प्रतिशत प्राक्टिकल गर्नुपर्ने । त्यसैले साढे चार पाँच बजेसम्म पढ्नु पर्ने । बेलुका घर आउने गाडी नपाउने । अझ टिचिङ प्राक्टिसको प्राक्टिकल पनि । पूर्ण रूपाा रिचर्च रिपोर्ट दुबैको । समयको व्यवस्थापनले मलाई समस्या बनाएको थियो तर पनि मैले जसोतसो परीक्षा लेखे चैत्रमा । त्यसपछि पन्ध्र दिनको रियल टिचिङ पनि गरे गाउँकै स्कुलमा । स्नातक तेस्रो वर्षको रिजट्ट आयो ।

फेरि, ०.४५ ले प्रथम श्रेणी पुगेनछ । मान्छेहरू बाहिरबाट देख्दा सजिलो देख्थे, राम्रो देख्थे । भन्थे केको कमी छ र ? खर्च बाबुले गरिहाल्छ, दिदी पनि अमेरिका । कमी केको थियो मलाई मात्र थाहा थियो । वास्तविक कुरा यो हो कि आफूले कमाएर खर्च गर्नु र परिवारले खर्च गर्नु फरक हुन्छ । एक किसिमको सन्तुष्टि हुँदैन । मान्छेको अरूको कमाई हेरेर । मात्र कमी र पूराको विश्लेषण गर्न कहिले सिक्लान ? आज पनि प्रश्न छ मेरो । हरेक भोगाईले मलाई लेख्न सिकायो । हरेक भोगाइलाई म डायरिमा लेख्थें । जस्तै व्यस्त भए पनि साहित्य पढ्ने आदत भने छुटेको थिएन ।

परीक्षापछि अब फेरि अवस्था आयो घर बस्न्ने जुन मेरो लागि धेरै जटिल थियो । त्यसैले म बोर्डिङमा पढाउन मंगलबारे गएँ । त्यहाँ माध्यमिक तहमा अंग्रेजी र सामाजिक पढाउन थाले । तर समय मेरो लागि सधै जटिल थियो, सँधै परीक्षा लिइरह्यो । त्यतिबेलै लाइसेन्सका साथै स्थानीय तह लोकसेवाको फारम खुलाई दियो ।

यता त्यही समय स्कुलमा आठ, नौ र दशको सामाजिक र दशको अंग्रेजीको ट्युसन पढाउने बेला भएको थियो । यता लाइसेन्स र लोकसेवा दुबैको फारम पनि एकैपटक खुलेको थियो र भरेको पनि थिएँ । फेरि पनि समयको व्यवस्थापन गारो भयो । पढाउन छाडेर घर नै आएँ जहाँको वातावरण मेरो लागि जटिल थियो । घर बसेर दुबै पढें । लाइसेन्सको पाठ्यक्रम परिमार्जन गरी जटिल बनाएको थियो । दुईवटा पत्र लेख्नुपथ्र्यो १०० अंकमा । त्यसमा पनि विषयगत र वस्तुगत दुबै प्रश्न समावेश गरी । अझ ५० अंकभन्दा माथि ल्याउन सके मात्र नाम निस्कने नयाँ नीति थियो । परीक्षा दिएँ दशैअघि नै दुबैको ।

त्यसपछि स्नातक चौथो वर्षको रिजल्ट पनि आयो । प्रथम श्रेणी आएछ चौथो वर्षमा । समग्रमा चार वर्षको गणना गर्दा ट्रान्सक्रिप्टमा ५९.८३ पुगेछ । थोरै अंकले मात्र प्रथम नपुग्दा खल्लो लाग्यो । केही तितो महसुस भयो । दशैपछि पुनः गाउँकै सामुदायिक विद्यालयमा केही समयका लागि माध्यमिक तहमा अंग्रेजी पढाउनुपर्ने भयो । त्यता पढाउन थाले । केही समय पछि त्रिभुवन विश्वविद्यालयले मास्टर्सका लागि इन्ट्रान्स फारम खुलायो । त्यसबीच फेरि मेरो जेठी फुपुको क्यान्सरले नै निधन भयो ।

उहाँकै घरमा बसी मैले एस.एल‘सी लेखेको थिएँ । उहाँ लामो समयबाट बिरामी हुनुहुन्थ्यो । घरको वातावरणले मलाई पढ्न नपठाउने निर्णय जस्तो भए पनि मेरो आफ्नै जिद्दीले इन्ट्रान्स फर्म भरी परीक्षा लेखें । इन्ट्रान्समा नाम पनि निस्कियो । फागुनबाट कक्षा शुरू हुने भयो । घरमा अझ पनि सबै छोराछोरी उस्तै हुन् भनेर नपढाउने जस्तो कुरा आउँथ्यो । तर मैले जिद्दी छाडिन् । कुरा कुरामा घरमा मेरो बहस र तर्क पथ्र्यो । त्यसपछि म काठमाडौ आएँ २२ वर्षको उमेरमा । कीर्तिपुरमा कोठा भाडामा बसी मास्टर्स प्रथम सेमेस्टार पढ्न थाले । कक्षा शुरू भयो । यहि बीच लाइसेन्सको रिजल्ट आयो । ५० प्रतिशत माथि अंक ल्याउनुपथ्र्यो । मैले नि.मा.वि तह अंग्रेजी विषयको लाईसेन्स निकालें ।

तर आजसम्म दिएका जिवनका परीक्षा जस्तै यस पटक पनि मास्टर्सको भन्दा पहिला जीवनको परीक्षा दिनु प¥यो । चाीनबाट शुरू भएको कोरोना भाइरसले गर्दा चैत्र ११ गतेबाट देशब्यापी बन्दाबन्दी भयो । जसकारण पुनः घर जानुपर्ने भयो । घर दिनको चार दिनमा ठूलोमम्मीको निधन भयो फेरि । केही समयबाट उहाँ बिरामी हुनुहुन्थ्यो । त्यको पन्ध्र दिनसम्म त्यतै व्यस्त भएँ । म परिवारका सदस्यहरू गुमाउँदैथे । मलाई अचम्म लाग्थ्यो एकपछि अर्कोको निधन हुँदै गएको । देख्दा तर भोगाईले मलाई दह्राे बनाउँदै थियो ।

घर आएपछि एक पटक मलाई फेरि लाग्यो मलाई जहाँबाट यात्रा शुरू गरें फेरि त्यही पुगेर अन्त्य भयो । पढाइ बन्द थियो । घरको कामहरू गरेर दिन बित्न थाले । कोरोना भाइरसको खबर दिनरात सुन्दासुन्दा दिक्क भइसकेको थिएँ । मैले जुन वातावरण मास्टर्सको पढाईको लागि नछान्ने निर्णय गरेको थिएँ तर प्रथम सेमेस्टारको पढाइ पनि त्यही वातावरणमा गर्नुपर्ने भयो जुन स्नातक पढ्दासम्मको वातावरण थियो । मान्छेको जीवनले कतिबेला के मोड ल्याउँछ कसलाई के थाहा ?
बन्दाबन्दी खुल्छ र पढाइ हुन्छ भन्दै जेठसम्म त्यत्तिकै बसियो । तर सरकारले बन्दाबन्दी थप गर्दै मात्र लग्यो ।

जेठबाट फेरि त्रि.वि ले अनलाईन कक्षा शुरू गर्ने भयो।डाटा लिन महंगो पथ्र्यो । त्यो पनि नेपाल टेलिकमसँग सहकार्य गरेर सहुलियतमा दिने भयो । केही नहुनुभन्दा थोरै हुनु बेस भन्ने मान्यताका साथ अनलाईन कक्षा पनि शुरू भयो । ल्यापटप किनेको थिएन । काठमाडौमा हुँदा किन्ने भन्दा भन्दै बन्दाबन्दी भएकाले किनेको थिएन । मोबाइलबाट काम चलाउनुपर्ने भयो । महिलाको पाँच सय तिरेर नेपाल टेलिकमबाट डाटा लिई क्लास लिन थालें ।

वास्तवमा भन्दा अनलाईन कक्षा लिन मात्रका लागि मात्र पनि समय मिलाउन गाह«ो गथ्र्यो घरमा । दिउँसोको थियो क्लास । बिहान उठेर घरको काम गर्नु, खाना बनाउनु, खाना दिनु, धन्दा सक्नुमा बिहान जान्थ्यो । अनि कहिले एघार बजेबाट एक बजेसम्म क्लास त कहिले एकबाट पाँच । क्लास सकिएपछि फेरि काम । खेतीपाती, गाईबस्तु, घरको दैनिक काम अनि थोरै परिवार सदस्य । आफूले पढ्ने समय निकाल्न त गाह्राे थियो ।

समय बित्दै जाँदा अनलाईन असाइनमेन्ट हुँदै प्रेजेन्टेसनसम्म पुग्यो कुरा । घर, गाउँमा बस्ने विद्यार्थीले कस्तो समस्या भोग्नुपर्छ अनलाईन प्रयोगका लागि, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । हुँदाहुँदा कुरा अनलाईन परीक्षासम्म पुग्यो । घरमा पढ्ने वातावरण, साधन अनि समय नभईराखेको बेला यस कुराले अझ तनाव बढायो । उता कोठा भाडा पनि महिनाको पुगिसकेको थियो । यसैक्रममा असोज १ गतेबाट सार्वजनिक सवारी साधन खुलेपछि म कोठाको व्यवस्थापन गर्ने विचारले २ गते जोखिम मोल्दै भए पनि नाइट बस चढें ।

‘बहिनी ! ए बहिनी ! !’ आवाज सुनेर म झस्कें । म त घण्टौबाट टोलाईरहेको रहेछु । पिउन भनेर पकाएको चिया पुरै सेलाईसकेछ ।
बाहिरबाट पुनः आवाज आयो ‘बहिनी !!’
पल्लो कोठाको आन्टी हुनुहुँदोरहेछ । ‘हजुर आन्टी’ मैले भने ।
‘कतिबेला आयौ । थाहै पाइन त’ आन्टीको आवाज ।
‘भर्खर आन्टी । म एकछिनमा आउँछु है’ मैले भने ।

सायद आन्टी जानु भयो । फेरि आवाज आएन । म उठेर पर्दा खोली झ्यालबाट बाहिर हेरें । सबै मान्छे आफैमा व्यस्त थिए, आफ्नै हतारमा थिए । आकाशमा चरो उडिरहेको थियो । कति आजाद छ त्यो चरो । सायद गुँडामा पुग्न हतार होला उसलाई पनि । हुनसक्छ जोडीको खोजीमा कुदेको होस् । चाराको खोजीमा उडेको पनि हुनसक्छ ।
मान्छे मात्र बन्धनले बाँधिएको छ यहाँ । जन्मेपछिबाटै सिक्रीले बाँधी दिइन्छ यहाँ । त्यो सिक्री चुँढाएर कोही हिँड्न खोजे अस्तित्व नै मेटिन्छ उसको ।

थाहा छैन अब भविष्य खोज्दै कहाँ पुग्नुपर्ने हो अनि कुन बाटो हिँडेर । कोरोनाले कुन काँडाको बाटो घुमाउने हो । जमाना कहाँबाट कहाँ पुगिसक्यो तर हाम्रो समाजमा अझै पनि ‘जेठो छोराछोरी घर प्यारो, कान्छो छोराछोरी बाउ आमाको प्यारो’ भन्ने उखान नै लागू भइरहेको छ । अझ भनौ लागू गरिरहेका छन् । जुन आजको उत्तर आधुनिकवादको शताब्दीमा लागू हुँदैन । यो युगमा सत्य व्यक्तिगत हुन्छ । सत्य बहुआयामिक हुन्छ । उमेर परिपक्कताको यहाँ प्रत्यक्ष छैन तर सत्यले ल्याउने परिपक्कता र दिने ज्ञान प्रत्यक्ष छ ।

कोरोना भाइरसले आफ्नो गन्तव्य पुग्न लागेका म जस्ता कति यात्रीलाई बाटैमै मृत्यु दिने हो अझै । कति छटपटिईरहेका छन् घाइते भई । अनि कतिलाई पुरानै विन्दुमा पुर्‍याउने हो जहाँबाट यात्रा शुरू गरेका थिए । थाहा छैन । कहिले सहन सक्लान् कतिले नसक्लान् । मलाई पनि थाहा छैन बाटो कता छ र कसरी खोज्ने ? तर पक्का छु यो बाटो पनि अघि अघिझैँ काँडाकै छ । तर मलाई खोज्नु छ बाटो । लडे पनि पुन उठ्नु छ पटक पटक । आउने छन् कति उतार चढाव तर हिंड्ने ठाउँमा हिँड्नु छ र दौडनु पर्ने ठाउँमा दौडनु पनि छ ।

          

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७