उपत्यकाका व्यापारिक केन्द्रमै ‘उपभोक्ताको प्रतीक्षा’


१० आश्विन २०७७, शनिबार
new road scaled

काठमाडौं, १० असोज । विगतको स्मरण गर्ने हो भने चाडबाडको मुखमा नेपालका मुख्य व्यापारिक केन्द्र यतिबेला मानिसको थेगिनसक्नु भीड हुन्थ्यो । सामान बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो । मानिसको बाक्लो उपस्थितिले गल्लीका गन्तव्य छिचोल्न मुस्किल पर्दथ्यो । यसपालि त्यसको ठिक विपरीत छ ।

उपत्यकाको व्यापारिक केन्द्र मानिने असन, न्यूरोड, इन्द्रचोक, महाबौद्धका व्यावसायी उपभोक्ताको प्रतीक्षा गरिरहेका छन् । बिहान पसल खोलेपछि हाई काडेर बस्न बाध्य छन् । ‘झुक्किएर फाट्टफुट्ट आइहाले भने हो, नत्र व्यापार सुनसान नै हो’, काठमाडौं असनमा साडी पसल सञ्चालन गर्दै आएका प्रमोद रौनियार भन्छन्, ‘व्यापारको मन्दीले चाडबाड नै खल्लो होला जस्तो छ ।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा अझै बढ्दो छ । विश्वव्यापी देखिएको त्यसैको प्रभाव नेपालमा पनि कायमै छ । गत चैत ११ पछि झण्डै चार महिना बन्दाबन्दी र त्यसपछि निषेधाज्ञा जारी गरेर नियन्त्रणको प्रयास गरिए पनि सङ्क्रमण काम हुने सकेको पाइँदैन । कोरोनाको त्रास कायमै रहेकाले मानिस बाहिर निस्किन डराइरहेका छन् ।

आर्थिक क्षेत्र नराम्ररी प्रभावित भएपछि अघिल्लो महिनाबाट सरकारले व्यापार व्यवसाय सञ्चालनको अनुमति दिएपछि झण्डै दुई हप्तादेखि यहाँका व्यवसाय खुलेका छन् । उपत्यकाको व्यापारिक केन्द्र खुला छ तर व्यापार मन्द छ ।

गत साल असन नजिकैको मछिन्द्र बहालमा मानिसको चापले पैताला राख्ने ठाउँ हुँदैनथ्यो । दोकाममा मानिसको भिडले व्यवसायीलाई पानी खाने फुर्सद थिएन । यसपालि यहाँका गल्लीमा काम विशेषले हिंडेका केही मानिस देखिन्छन् तर व्यापारकै लागि आउनेको उपस्थिति न्यून छ ।

ग्राहक नआएपछि मोबाइल खेलाउँदै बसेका जुत्ता व्यवसायी विवेक तिमिल्सिनाको अनुभव पनि प्रमोदको भन्दा फरक छैन । यसपालि गत वर्षको तुलनामा ९० प्रतिशत व्यापारमा कमी रहेको उनले बताए । ‘मान्छेको सामान्य हिंडडुल छ तर किनमेलका लागि भनेर आउँदैनन’, उनले अनुभव सुनाए ।

दशैंं आउन अब एक महिना बाँकी छ । यो समयमा दशैंको जोहो गर्न विभिन्न जिल्लाबाट मानिस काठमाडौँ आउँथे । अनि सामान लिएर जान्थे । कोरोना कहरले यसपाली त्यो अवसर असन, इन्द्रचोक, न्यूरोडले प्राप्त गर्न सकेन ।

असनमा झण्डै ३५ वर्षदेखि भाडा पसल सञ्चालन गर्दै आएका हङ्स तामा–पित्तल भाडा पसलका सञ्चालक राजन बानियाँ इतिहासमा पहिलो पटक मन्दी महसुस गरेको अनुभव सुनाउँछन् । ‘भुइँचालो जाँदा बरु यो भन्दा धेरै व्यापार भएको थियो’, बानियाँ दुखेसो गर्छन्, ‘विगत वर्षभन्दा यसपालि शून्य व्यापार भन्दा हुन्छ, ९० प्रतिशत घटेको छ ।’

व्यापार राम्ररी सञ्चालन हुने कोरोना निर्मूल हुनुपर्ने अवस्था रहेको उनी बताउँछन् । व्यापारसँग जोडिएका असङ्गठित क्षेत्रमा मजदुरहरु डबली र पाटीमा सुस्ताइरहेका छन् ।

कोरोना अझै कम हुने छाँटकाँट नभएकाले व्यापारको अनिश्चित भूमरीमा दोकान खोलेर बस्न बाध्य छन् व्यवसायी । उनीहरुमा छिट्टै व्यापार हुने अभिलासा हराएको छैन । दशैंको आसपास व्यापार बढ्छ कि भन्ने झिनो आशा सङ्गालेर बसेका छन् ।

त्यसो त उपत्यकाको मात्रै होइन विभिन्न जिल्लाका व्यापारिक केन्द्र पनि सुनसान नै छ । अझै पनि कतिपय भीडभाड हुने मुख्य केन्द्रहरु सञ्चालन हुन सकिरहेको छैन । असोज १ पछि सार्वजनिक यातायात सञ्चालनमा छ । त्यही पनि भौतिक दूरी कायम राखेर एक सिटमा एक जना बस्ने गरी चलाइएको छ । अन्य केही व्यवसायलाई चलायमान पारिएको छ ।

कोरोना कहरले ठूलो आर्थिक क्षति बेहोरेर लामो समयदेखि पीडा महशुस गरिरहेका कतिपय व्यापारी भाडामा बसेका छन् । कमाइ नहुँदा भाडा तिर्न सक्ने अवस्थामा छैनन् भने परिवार पाल्ने समस्यामा छन् । चैतदेखि कोभिड–१९ को नकारात्मक प्रभावले व्यापार नहुँदा दैनिकी सञ्चालनमा समस्या परिरहेको उनीहरु सुनाउँछन् ।

सुस्ताउँदै दोकान कुरिरहेका एक जना किराना व्यवसायी नारेकृष्ण श्रेष्ठ ग्राहक आउँछन् कि भनेर प्रतीक्षामा दैनिकी बितिरहेको बताउँछन् । आज शनिबारको दिन किनमेल गर्ने मानिसको अत्याधिक भिड हुनुपर्ने हो । यहाँका गल्लीमा फाट्टफुट्ट मानिसको आवागमन देखिन्छ । आएका पनि सिमित मात्रै दोकान प्रवेश गर्छन् । कोभिड–१९ को डर कायमै रहेकाले मानिसहरु आउन सकिरहेका छैनन् ।

असनका मसला व्यापारी पुष्प श्रेष्ठ जसरी दशैँँको समयमा खरिद बिक्रीको लागि मानिस आउनुपर्ने हो, नआएको बताउँछन् । ‘यतिखेर मान्छेको भिडले हिँड्नै सक्नु हुन्थेन, उ हेर्नुस न (चोक देखाउँदै) सुनसान देखिरहनु भएको छ’, उनले भने ।

उनका अनुसार कार्तिक लागेपछि केही किनमेल बढ्ने आशा छ । असोज महिना भने यसैगरी जाने अनुमान व्यवसायीको छ । अब चाडबाडको मौसम शुरु भइसकेको छ । यसपालि कोरोना सङ्क्रमणमा कमी आउने छाँट देखिएको छैन । दशैं तिहार पनि यसैगरी बित्ने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७