बालिका बलात्कार–हत्या प्रकरण : कारबाही माग गर्दै विद्यार्थीको प्रदर्शन


११ आश्विन २०७७, आईतवार
bajhang kanda2020 09 27 05 44 28

बझाङ, ११ असोज । बालिका हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै बझाङ सदरमुकाम चैनपुरमा शनिबार विद्यार्थीले प्रदर्शन गरेका छन् ।

अनेरास्ववियु र नेविसंघको अगुवाइमा विद्यार्थीसँगै नागरिक समाजका अगुवाहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले १२ वर्षीया बालिकाको हत्यामा संलग्न जोकोही भए पनि निष्पक्ष छानबिन गरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेका विद्यार्थीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । घटनामा दोषीलाई कारबाही नगरिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

७ असोजमा गाईगोरुलाई गोठमा घाँस हाल्न गएकी बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका गाउँनजिकैको शिव मन्दिरमा मृत भेटिएकी थिइन् । उनी शरीरको तल्लो भागमा कपडा नभएको र यौनांगमा रगत बगेको अवस्थामा भेटिएकी थिइन् । बलात्कारपछि हत्या गरिएको भन्दै उनका बाजेले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । प्रहरीले गाउँकै २० वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ ।

राजेन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए । ‘हामी अनुसन्धान गरिरहेका छौँ । अहिले यकिन गरेर भन्न सकिने अवस्था छैन,’ डिएसपी खड्काले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७