सिंगो गाउँ नै पहिरोको जोखिममा, २६ घर भत्किए


११ आश्विन २०७७, आईतवार
Pahiro 2

अर्घाखाँची, ११ असोज । अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ को कोठिया मैदान भासिएपछि गाउँले त्रासमा छन् ।

कोठिया मैदानमा जमिन धुजाधुजा भएर भासिएपछि ४० घर परिवार रहेको सिंगो गाउँ नै पहिरोको जोखिममा परेको शितगंगा नगरपालिका–१२ का वडा अध्यक्ष बाबुराम गैरे बताए । उनका अनुसार अहिलेसम्म २६ घर भत्किएका छन् । अन्य १४ घर पहिरोको उच्च जोखिममा छन् ।

पहिरोले मानवीय क्षती नगरे पनि घर बगाएको छ। घरमा पालेका भैँसी, गाई, गोरु, बाख्राको बिचल्ली भएको छ । घरमा बचेका सामान स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाले निकालेको छ ।

गाउँले कहाँ बस्ने भन्ने चिन्तामा रहेको शितगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारी बताउँछन् । सबै परिवारलाई तत्काल स्थानीयको घरमा र कोठिया मैदानको चौरमा बस्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

पहिरो खस्ने क्रम अहिलेसम्म रोकिएको छैन् । पहिरो बढ्दै जाँदा बस्ती सार्नुको विकल्प नभएको राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का बताउँछन् । सबै घरधुरीलाई रेडक्रस अर्घाखाँचीले टेन्टसहितका एकसेट राहत सामग्री प्रदान गरेको नेपाल रेडक्रसा सोसाइटीका जिल्ला अध्यक्ष कुशल भुसालले जानकारी दिए ।

जनप्रतिनिधि र सरोकारवालासँगको छलफलपछि जिल्ला दैविक प्रकोप उद्धार समितिले बस्ती कहाँ राख्ने भन्ने निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७