प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद वैठक


११ आश्विन २०७७, आईतवार
PM KP Oli
बैठकमा प्रधानमन्त्री ओली

काठमाडौं, ११ असोज । मन्त्रिमण्डल फेरबदलको चर्चा र कसरत चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले आज (आइतबार) मध्याह्न १२ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद वैठक बोलाएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर, प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका हुन् । तर, प्रेस सल्लाहकार थापाले आजको बैठक पनि नियमित जस्तै भएको बताएका छन् ।

प्रधानमन्त्रीले यसरी आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएको बारे आफूलाई कुनै जानकारी नभएको एक मन्त्रीले बताएका छन् । मन्त्रिपरिषद् एक दुई दिनभित्रै पुनर्गठन गर्ने विषयमा नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेका बेला मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद फेरबदलको निष्कर्षमा पुगे पनि साझा धारणा भने बनिसकेको छैन । मन्त्रिमण्डल फेरबदलका मापदण्डका विषयमा दुई अध्यक्षबीच छलफल चलिरहेको नेकपा स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७