ओली–प्रचण्डबीचको छुट्टै छलफल सकियो, मन्त्रिमण्डल पुनर्गठनबारे मिलेन कुरा


११ आश्विन २०७७, आईतवार
kp oli prachanda scaled

काठमाडौं, ११ असोज । मन्त्रिपरिषदको आकस्मिक वैठकअघि आज (आइतबार) प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छुट्टै छलफल सकिएको छ ।

मन्त्रिपरिषद पुनर्गठनका लागि साझा सहमति जुटाउने उद्देश्यका साथ भएको भेटवार्ताले कुनै ठोस सहमति जुटाउन नसकेको स्रोतले जानकारी दिएको छ । आइतबार मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री ओलीले त्यसअघि अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल मन्त्रिमण्डल पुनर्गठनका विषयमा केन्द्रित रहेको भए पनि मन्त्रिपरिषद गुनर्गठनका लागि साझा सहमति बनिनसकेको जनाइएको छ ।
दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठनलगायातका समसामयिक विषयमा छलफल भए पनि अहिलेसम्म कुनै सहमति जुटिनसकेको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा विभिन्न कोणबाट छलफल भए पनि दुई अध्यक्षबीच कुरा मिलिनसकेको बताउँदै सापकोटाले भने, ‘फेरि छलफललाई निरन्तरता दिने भन्ने अध्यक्षहरुबीच सल्लाह भएको छ ।’

दुई अध्यक्षबीच सहमति नभएपछि मन्त्रिपरिषद पुनर्गठनको आजै नहुने भएको छ । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा कुनै जानकारी नगराएको अध्यक्ष प्रचण्डले बताएको सापकोटाले जानकारी दिएका छन् ।

यसअघि बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिन मन्त्रिमण्डल पुनर्गठनका विषयमा लगातार छलफल भए पनि कुन मोडेलमा गर्ने भन्ने विषयमा सहमति जुटेको थिएन । सोही विषयमा आज थप छलफल भए पनि आज पनि सहमति नजुटेको हो ।

आजको छलफलमा अध्यक्ष प्रचण्डले पार्टीले निर्णय गरेर मात्रै मन्त्रीको नाम तय गर्नुपर्ने सुझाब प्रधानमन्त्री ओलीलाई दिएको बताइएको छ । विशेष गरी मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड र कहि मन्त्रालयहरुको विषयमा दुई अध्यक्षबीच समान धारणा बनिनसकेको स्रोतको दावी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७