प्रहरी, शिक्षक, र मजदूर गरी गण्डकी प्रदेशमा थपिए ७१ कोरोना संक्रमित


११ आश्विन २०७७, आईतवार
korona

पोखरा, ११ असोज । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी ७१ जना नयाँ संक्रमित थपिएका हुन् । नयाँ थपिएका संक्रमितमा बागलुङका ३१, कास्की २१, लमजुङ १६ र नवलपरासी पूर्वका ३ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरुमध्ये पोखरा महानगरपालिकाका–३ का २७ र १५ का ३८ वर्षीय दुई पुरुष नेपाल प्रहरीमा कार्यरत रहेका छन् भने वार्ड नं ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका लागि काम गर्ने कामदार रहेका छन् ।

त्यस्तै लमजुङको मध्यनेपाल–६ का ३५ वर्षीय पुरुष स्थानीय स्कुलका शिक्षक रहेका छन् भने बागलुङका धेरैजसो संक्रमित भारतबाट र केही संक्रमित जापान, ओमान, दुबई, क्यानाडाबाट आई क्वारेन्टाइनमा बसेका व्यक्ति रहेको निर्देशक शर्माले जानकारी दिए ।

अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन् । सबै संक्रमितलाई अहिले आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७४४ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७