प्रधानमन्त्रीले डाकेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता निर्णयहरु


प्रकाशित मिति : ११ आश्विन २०७७, आईतबार ००:००
File Photo

काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा डाकेको मन्त्रिपरिषदको वैठकले विभिन्न निर्णयहरु गरेको छ ।

मन्त्रिमण्डल फेरबदलको चर्चा चलिरहेका बेला आज (आइतबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद वैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ ।

केहि महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहेका भण्डारीलाई नै सो पदमा नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । यस्तै वैठकले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको छ ।

अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रमसम्बम्धी सम्झौता गर्न राजदूत शाक्यलाई अख्तियारी प्रदान गरेको थियो । यस्तै अब नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ ।

नियमित रुपमा सोमबार तथा बिहीबार बस्ने गरेको बैठक आइतबार नै राखिए पनि कुनै विशेष जरुरी प्रस्तावबारे छलफल नभएको बताइएको छ ।

बैठक आकस्मिक रुपमा आज राखिए पनि कुनै त्यस्तो विशेष प्रस्ताव नभएको र बैठक नियमित विषयहरुमै केन्द्रित रहेको वैठकमा सहभागी एक मन्त्रीले बताएका छन् । आकस्मिक रुपमा मन्त्रिपरिषद वैठक डाकिएका कारण नेपाली राजनीति क्षेत्रमा निकै चासो बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्