अख्तियारमा उजुरी दिने संस्था नै उल्टै छानविनमा


११ आश्विन २०७७, आईतवार
betana simsar

मोरङ, ११ असोज । मोरङको बेलबारीस्थित बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

तर, जसले समूहविरुद्ध उजुरी दिए ती संस्था नै छानबिनमा परेका छन् । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिने बेलबारीका दुई संस्था आफै छानबिन परेका हुन् ।

बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहविरुद्ध छानबिन तथा कारबाहीको माग गर्दै बेतौंना सिंचाइ जल उपभोक्ता समिति बेलबारी र अमना सिसौली सिंचाइ उपभोक्ता समिति बेलबारीले आयोगमा उजुरी दिएका थिए ।

वेतना सिमसार वनभित्र आर्थिक हिनामिना भएको सम्बन्धमा छानबिन तथा कारबाहीको माग गर्दै असारमा निवेदन पेस गरेको बेतौंना सिंचाइ जल उपभोक्ता समितिका अध्यक्ष भुवनसिंह राईले बताए । तर, अहिले मात्र बेतना सिमसारमा आयोगको ध्यान केन्द्रित भएको छ ।

आर्थिक अनियमितता भएको जनाउँदै २०७३–०७४ सालको साधारण सभामा प्रस्तुत आर्थिक विवरण उपभोक्ताहरुलाई चित्त नबुझेको, हाल बेतनाभित्र संरक्षणका लागि राखिएका जीवजन्तु हराएको, निर्मित संरचना संरक्षण नभएको, कर्मचारीले तलब नपाएको पत्रमा उल्लेख गरिएको छ । पत्रमा कारबाहीको माग गर्दै बेलबारी नगरपालिका र सबडिभिजन वन कार्यालय बेलबारीमा निवेदन पेस गरेको पनि उल्लेख गरिएको छ ।

सब डिभिजन वन कार्यालयमा असार ९ गते कारबाहीको माग गर्दै निवेदन पेस गरेको अमना सिसौली सिंचाइ उपभोक्ता समितिका अध्यक्ष केदारकुमार गुरुङले बताए । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहको कार्यकाल सकिए पनि विधान र प्रचलित कानुन विपरीत अवैध रूपमा कार्य गरी रहेको, आर्थिक अनियमितता भएको, २०७५–०७६ को साधारण सभा नगरेको, उपभोक्तालाई पूर्णता समेत नदिएको दुई सिंचाइ उपभोक्ता समितिका अध्यक्ष राई र गुरुङ बताउँछन् ।

उनीहरूका अनुसार समितिको विधानको परिच्छेद ३ धारा ३.२ अनुसार पदाधिकारी ५ र सदस्य २८ जना गरी ३३ सदस्यीय कार्य समिति हुनुपर्नेमा २५ जनाको मात्र कार्य समितिले सञ्चालन गरेको हुँदा कार्य समितिले पूर्णता पाएको छैन । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहमा सरोकारवाला संस्था सिंचाइ समितिहरू, बेलबारीको पहिलो नागरिक धिमाल, दलित समुदायको पनि समावेश नगरिएको र विधान मिचेको अध्यक्षद्वयको आरोप छ ।

बेतनामा चरम लापरबाहीका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरेको निवेदनको उल्टो छानबिन बेतौना र अमना सिसौली सिंचाइ उपभोक्ता समितिमा भइरहेको अध्यक्षद्वयको गुनासो छ ।

अध्यक्ष राई भन्छन्, ‘बेतनामा चरम लापरबाही भएको सबैलाई थाहा छ । तसर्थ सुधार हुनुपर्छ भनेर अख्तियारमा निवेदन दिएका हौ । तर हाम्रो संस्थाको उल्टो छानबिन शुरु भयो । हाम्रो संस्थाको छानबिन हुनु गलत होइन तर, चरम लापरबाही गर्ने संस्थाको नाममा निवेदन दिंदा सम्बन्धित संस्थामा आयोगको ध्यान नजानु हाम्रो गुनासो हो ।’

उजुरीबारे बोल्दैन बेतना सिमसारका उपभोक्ता

बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको कुरा आफूलाई जानकारी नभएको बताउँछन् । तर आयोगले अनुसन्धानको लागि समितिलाई जुन बेला पनि बोलाउनु सक्ने स्रोतबाट बुझिएको छ ।

‘अमना सिसौली सामुदायिक वन उपभोक्ता समिति बेलबारी, साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बेलबारीलगायत अन्य संस्थाहरूको पनि साधारण सभा भएको छैन । तर, किन सरोकारवालालाई बेतानामा मात्रै चासो भएको हो ?’ अध्यक्ष बस्नेत प्रश्न गर्छन् ।

आयोगदेखि कुनै पनि पत्र तथा सूचना नआएको बस्नेतले जानकारी दिए । तर बेतनामा विविध कारण साधारण सभा गर्न नसकेको सब डिभिजन वन कार्यालय बेलबारीमा स्पष्टिकरण पेस गरी सकेको उनले बताए । स्थानीयस्तरमा राजनीतिज्ञ दलसँग छलफल गरी चाँडै साधारण सभा गरी निकास निकाल्ने बस्नेत बताउँछन् ।

बेतनाभित्र संरक्षणको लागि राखिएको जीव जनवार पूर्ण रूपमा सुरक्षित रहेको बस्नेतले दावी गरेका छन् । कर्मचारीलाई तलब नदिएको सवालमा लकडाउनमा बेतनाको आय स्रोत नभएको र भएको अर्थले नपुग्ला भनेर कर्मचारीलाई काम समेत कम गराएर केही महिनाको तलबमा ढिलाइ भएको बस्नेत बताउँछन् ।

सबडिभिजन कार्यालयलाई दिएको जनावरको संख्या विवरणमै फरक
बेतनामा संरक्षणका लागि राखिएको जीवजन्तु पालनपोषणमा कमजोरी देखिएको सब डिभिजन वन कार्यालय बेलबारीका सहायक अधिकृत दिपेश मिश्रले स्वीकारेका छन् । मिश्रका अनुसार बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहलाई सुधार गर्न समेत निर्देशन गरिएको छ ।

पटक पटक साधारण सभा गर्न भनिए पनि बेतना सिमसारको साधारण सदस्यता अन्य वन उपभोक्ता समूहको भन्दा वृहत् भएका कारण लकडाउनको समयमा व्यवस्थापन हुन नसकेको समूहको स्पष्टिकरण रहेको मिश्रले बताए । बेतना सिमसारले आन्तरिक लेखा परीक्षण सकिसकेको र असोजभित्र साधारण सभाको तयारी गर्ने सब डिभिजनलाई समूहले जानकारी गराएको मिश्रले बताएका छन् ।

सब डिभिजन वन कार्यालय बेलबारी अन्तर्गत रहेका ८ वटा सामुदायिक वनमा बेतना सिमसार, अमना सिसौली र लक्ष्मी सामुदायिक वनले विधि भन्दा बाहिर काम गरिहरको मिश्र बताउँछन् । ३ वटा सामुदायिक वनलाई विधिमा ल्याउने कोशिस गरिरहेको उनले बताए ।

बेतनामा माछा चोरी खबर सार्वजनिक भएको महिना पनि कटेको छैन । उक्त चोरीमा संलग्नलाई समूहले कारबाही गरिसकेको समेत स्पष्टिकरण सब डिभिजनले पाएको मिश्रले जानकारी दिएका छन् ।

सब डिभिजन कार्यालयलाई समूहले दिएको जनावरको किसिम र संख्या फरक पाइएको छ । १ भाले निल गाई, ११ चित्तल, ६ खरायो, दुम्सी १, अजिङ्गर ४, बाँदर ४, हुचिल २, मलसाँप्रो कोटासे १, गिद्ध २, स्याल १, वनढाडे १, तित्रा २, मुसा ३०, राजहाँस ११, चिनियाँ हाँस ११ रहेको छ ।

तर बेतनामा भने १० चित्तल मात्र रहेको छ । समूहले एक चित्तलको मृत्यु भएको जवाफ दिएको छ । अजिङ्गर १ वटा मात्र रहेको छ । ३ वटा अजिङ्गर कहाँ हरायो भन्ने समूह नै अनविज्ञ छ । सब डिभिजन कार्यालयलाई समूहले दिएको जनावरको संख्या अनुसार बेतनाभित्र एक हुचिल र दुई चिनियाँ हाँस कम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७