सम्झनाको बलात्कारपछि हत्या आरोपमा समातिएका युवाविरुद्ध अर्की बालिका बलात्कारको समेत जाहेरी


११ आश्विन २०७७, आईतवार
rape case bajhang

बझाङ, ११ असोज । बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको अभियोगमा समातिएका युवाविरुद्ध अर्की एक बालिकामाथि पनि बलात्कार गरेको भन्दा प्रहरीमा जाहेरी परेको छ ।

गएको सउनमा स्थानीय १३ वर्षीया बालिकामाथि पनि ती युवकले बलात्कार गरेको भन्दै आइतबार प्रहरीमा जाहेरी परेका हो । मस्टा गाउँपालिका–२ खिकालाकी सम्झानाको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले स्थानीय १८ वर्षीय राजेन्द्र बोहोरालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । उक्त घटना अनुसन्धान भइरहेकै बेला बोहोराले त्यसअघि नै अर्की बालिकालाई पनि बलात्कार गरेको भन्दे जाहेरी परेको हो ।

उनीमाथि गत साउन २९ गते गहुँ पिसाउन घट्टामा गएकी बालिकालाई बलात्कार गरेको आरोप छ । पीडित बालिकाका आफन्तले जाहेरी दिएपछि यो घटनामा पनि अनुसन्धान शुरु गरिएको बझाङ प्रहरीले जनाएको छ ।

उक्त तर ३१ गते आफन्तहरुसँग बसेर मिलापत्र गरेको पाइएको छ । रावलले गल्ती भएको भन्दै ५०० रुपैयाँ राखेर पीडित बालिकाको खुट्टा ढोगेपछि मिलापत्र गरेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जनकारी दिए ।

त्यसबेला बालिकाको गर्भ रहे त्यसको जिम्मा उसैले लिने भन्ने कागज समेत गराइएको थियो । बालिका बलात्कारको घटना गाउँमै मिलाएपछि रावलले थप अपराध गर्न आँट गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

यता सम्झनाको बलात्कार र हत्यामा भने राजेन्द्रको संलग्नता पुष्टि हुँदै गएको प्रहरीको भनाइ छ । बालिकाको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भइसकेको छ तर, मृतक बालिकाको स्वाब र पक्राउ परेका युवकको विर्य परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

घटना अनुसन्धानका लागि शनिबार जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले स्थानीयसँग पनि बयान लिएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्का, प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्की र निमित्त जिल्ला न्यायाधिवक्ता सन्तोषकुमार कटुवालसहितको टोली शनिबार घटनास्थल पुगेको हो ।

घटना भएको दिन राजेन्द्र बालिकाको पछि–पछि जाँदै गरेको देखेको स्थानीयले बताएका छन् । त्यसअघि राजेन्द्रले बालिकासँग सुनका गहना मागेको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

राजेन्द्रले आफूसँग गहना माग्ने गरेको भन्दै बालिकालाई परिवारलाई सुनाएकी थिइन् । उनका हजुरबुबाले राजेन्द्रविरुद्ध किटानी जाहेरी दिएका थिए ।

हालसम्मको अनुसन्धानबाट उनको संलग्नता पुष्टि हुँदै गएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् । उनले भने, ‘हालसम्मका प्रमाणले उनको संलग्नता पुष्टि हुँदै गएको छ, केही परीक्षणका रिपोर्ट आउन बाँकी छ ।’ गत बुधबार वस्तु बाँध्न घरभन्दा आधाघण्टा टाढा रहेको गोठमा गएकी सम्झना नफर्किएपछि परिवार र स्थानीयले खोजी गरेका थिए । त्यस क्रममा गोठ नजिकैको मन्दिरमा उनको शव फेला परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७