फरार अभियुक्त कोरोना कालमा धमाधम पक्राउ


१२ आश्विन २०७७, सोमबार
pakrau पक्राउ arrest

काठमाडौं, १२ असोज । २ असोजमा ४८ जना फरार अभियुक्त पक्राउ गरेको स्याङ्जा प्रहरीले दुई दिनपछि थप १५ जनालाई समातेर अदालतमा बुझायो ।

तीन दिनबीचमा यति ठूलो संख्यामा अभियुक्त पक्राउ परेपछि स्याङ्जाका एसपी होबिन्द्र बोगटीले प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीबाट स्याबासी पाए । उनले स्याङ्जा प्रहरीको नेतृत्व सम्हालेको एक महिनामा एक सय पाँच जना पक्राउ परिसकेका छन् ।

अन्य जिल्लामा पनि यतिवेला अदालतबाट दोषी ठहर भई फरार रहेका अभियुक्त पक्राउगर्ने अभियान नै चलेको छ । पछिल्लो तीन दिनमा सप्तरी प्रहरीले ४५ जनालाई पक्राउ
गरेको छ । पक्राउ पर्नेमा अपहरण, हत्याजस्ता गम्भीर मुद्दामा सजाय तोकिएका व्यक्तिहरू पनि रहेको जिल्ला प्रहरी, सप्तरीका डिएसपी तिलक भारती बताउँछन् ।

यस्तै, तनहुँ प्रहरीले २८ भदौमा एकै दिन ३५ जनालाई पक्राउ गरेर अदालतमा बुझाएको छ । बहुविवाह, लागुऔषध, जुवा, घरेलु हिंसा, जालसाजीजस्ता मुद्दामा फरार व्यक्ति पक्राउ परेको तनहुँका एसपी अरुण पौडेल बताउँछन् ।

असारयता देशभर करिब एक हजारजना फरार अभियुक्त पक्राउ परेको प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागको तथ्यांक छ । पछिल्लोपटक जिल्ला प्रहरी कार्यालय, कास्कीबाट यो अभियान सुरु भएको हो ।

१७ भदौमा कास्की प्रहरीले एकै दिन २८ जना फरार व्यक्ति पक्राउ गरी अदालतमा पेस गरेको थियो । कास्की प्रहरीले पछिल्लो तीन महिनामा एक सय ९१ जनालाई पक्राउ गरेको छ । विशेष टोली नै बनाएर अभियानकै रूपमा फरार व्यक्ति पक्राउ गरिएकाले सफलता मिलेको कास्कीका एसपी जीवन श्रेष्ठ बताउँछन् ।

फरार अभियुक्त पक्राउ गर्नेमा जिल्ला प्रहरी कैलाली पनि अगाडि छ, जसले तीन महिनामा ४० भन्दा बढीलाई पक्राउ गरेको छ । डाँका, चोरी मुद्दामा १६ वर्षदेखि फरार रहेका गौरीगंगाका श्याम चौधरी र फूलपाती चौधरीलाई कैलाली प्रहरीले १७ भदौमा पक्राउ गरेको थियो । उनीहरूले ४ माघ ०५८ मा गौरीगंगामा डकैती गरेका थिए ।

पक्राउ परी पुर्पक्षमा जेल चलान भएका उनीहरू २७ माघ ०६१ मा कारागारबाट भागेका थिए । विगतमा भारतमा लुकेर बसेकाहरू कोभिड-१९ महामारीमा नेपाल फर्किएकाले पनि फरार व्यक्तिहरू पक्राउ गर्न सहज भएको कैलालीका एसपी अनुपमशमशेर राणा बताउँछन् ।

यस्तै, म्याग्दी प्रहरीले पछिल्लो तीन महिनामा ३४ जना फरार अभियुक्त पक्राउ गरेको छ । पक्राउ परेकामध्ये कतिपय विदेश र देशका अन्य भागमा लुकेर बसेका थिए । कोभिड-१९ बाट बच्न घर फर्किएका उनीहरू धमाधम पक्राउ परेको डिएसपी कुँवर बताउँछन् ।

पक्राउ परेकामध्ये ११ फागुन ०६६ मा ओखरबोटमा नारायण छन्त्यालको हत्यामा संलग्न पाँच जना पनि छन् । पक्राउ पर्नेमा चिउरीबोटका २८ वर्षीय बलमान घर्ती, ३३ वर्षीय जीवन घर्ती, रुमका २९ वर्षीय तीथेन्द्र घर्तीमगर, २६ वर्षीय दुर्गाबहादुर घर्ती र दलप्रसाद पुन छन् ।

उनीहरू सबैलाई अदालतले जन्मकैद तोकेको छ । शिवरात्रिका अवसरमा आयोजित भलिबल प्रतियोगितामा हारेपछि उनीहरूले छन्त्यालको हत्या गरेका थिए । यति धेरै संख्या फरार अभियुक्त पक्राउ पर्नुको प्रमुख कारण प्रहरी सक्रियता नै भएको म्याग्दीका डिएसपी किरणजंग कुँवर बताउँछन् ।

पक्राउ परे पत्रकार हत्याका अभियुक्त
१३ वर्षअघि बाराका पत्रकार वीरेन्द्र शाहको हत्यामा संलग्न भई फरार रहेका हरेरामप्रसाद कुर्मीलाई पनि प्रहरीले २४ भदौमा पक्राउ गरेको छ । १८ असोज ०६४ मा उनीसहितका व्यक्तिले पत्रकार साहको हत्या गरेका थिए । कुर्मीलाई कोहल्वीको सपही टोलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी सक्रियताका तीन कारण

अपराध गरेपछि ढिलो-छिटो सजाय भोग्नुपर्छ भन्ने सन्देश दिन फरार अभियुक्त पक्राउ अभियान चलाइएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायत बताउँछन् । अहिले फरार अभियुक्त धमाधम पक्राउ पर्नुका मुख्य तीन कारण देखिन्छन् ।

पहिलो- हालै धेरै जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । जिल्लामा नयाँ प्रहरी प्रमुख जानेबित्तिकै सक्रियता देखाउने कार्यशैली देखिँदै आएको छ । त्यही होडअन्तर्गत फरार अभियुक्त पक्राउ गर्ने अभियान चल्छ । यसपटक प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले पनि फरार अभियुक्त पक्राउ गर्न प्राथमिकता दिएकाले धेरैजना समातिएको एक प्रहरी अधिकारी बताउँछन् ।

दोस्रो – अपराध गरेर भागेकाहरू पनि लकडाउनपछि घर फिरेका छन् । भारत तथा अन्य देशमा पुगेका पनि स्वदेश फर्केका छन् । सोहीकारण पछिल्लो समय पक्राउ परेका अधिकांश घरमै भेटिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

तेस्रो – प्रोत्साहन रकमसँग जोडिन्छ । अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिलाई पक्राउ गर्दा जरिवानाको २५ प्रतिशत कमिसन प्रहरीले पाउँछन् । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रोत्साहन भत्ता दिने निणर्य गरिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७