प्याजमा कालोबजारी : ३५ रुपैयाँमा किनेर सयमा बेच्छन् व्यापारी


१२ आश्विन २०७७, सोमबार
onion

काठमाडौं, १२ असोज । बजारमा सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको सुकेको प्याज व्यापारीहरूले भारतबाट प्रतिकेजी ३५ रुपैयाँमा खरिद गरेर ल्याएको पाइएको छ ।

विराटनगर भन्सारमा बुझाएको बिलबिजकअनुसार पछिल्लो समय भदौ र असोज महिनामा आयात गरेको प्याज व्यापारीहरूले भारतमा प्रतिकेजी २२ रुपैयाँ भारु अर्थात् नेपाली ३५ रुपैयाँ मूल्यमा खरिद गरेको पाइएको हो ।

विराटनगर भन्सार कार्यालयका अनुसार भदौ महिनामा विराटनगर नाकाबाट प्रतिकेजी ३५ रुपैयाँ खरिद मूल्यमा १३ लाख १० हजार रुपैयाँ बढीको ३१ मेट्रिक टन सुकेको प्याज आयात भएको छ ।

जुन प्याज नेपालको तराईका बजारमा एक सय रुपैयाँभन्दा बढीमा व्यापारीहरूले अभाव देखाउँदै बिक्री गरिरहेका छन् । विराटनगर भन्सारबाट आयात भएको आलु प्रतिकेजी भारु १५ अर्थात् नेरु ३२ रुपैयाँमा खरिद भएको पाइएको छ । आलु हाल नेपाली बजारमा प्रतिकेजी ६० देखि ७० रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ ।

लकडाउन सुरु भएदेखि भदौ मसान्तसम्ममा विराटनगर भन्सारबाट ५२ करोड ३५ लाख ७४ हजार रुपैयाँबराबरको तरकारी आयात भएको छ । भन्सार कार्यलयको तथ्यांकअनुसार ११ चैत ०७६ देखि असार मसान्तसम्मम ३२ करोड ५३ लाख एक हजार नौ सय ७६ रुपैयाँको तरकारी आयात भएको छ ।

चालू वर्ष ०७७र७८ को साउन र भदौ महिनामा १९ करोड ८२ लाख ७२ हजार रुपैयाँबराबरको चार हजार ६ सय २२ मेट्रिक टन तरकारी आयात भएको छ । जसमध्ये साउनमा नौ करोड ९५ लाख ५९ हजार र भदौमा नौ करोड ८७ लाख १२ हजार मूल्य बराबरको दुई हजार ९३ मेट्रिक टन हरियो तथा सुकेको तरकारी आयात भएको छ ।

विराटनगर भन्सारबाट मुख्य आलु, प्याज, लसुन र हरियो तरकारी नेपालतर्फ आयात हुने गरेको छ । भन्सार कार्यालयका अनुसार प्रायः सबैखाले हरियो तरकारी प्रतिकेजी भारु २० अर्थात् नेरु ३२ रुपैयाँमा खरिद भएको पाइएको छ । भारतबाट आयात भएका कुनै पनि हरिया तरकारी बजारमा ७० रुपैयाँभन्दा कममा बिक्री भएका छैनन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७