टेकुमा पिसिआर परीक्षण गराउन आउने सर्वसाधारणको भीड, व्यवस्थापन नहुँदा भद्रगोल


१२ आश्विन २०७७, सोमबार
teku hospital 13

काठमाडौं, १२ असोज । सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको छ । तर सरकारी अस्पतालमा भने पिसिआर परीक्षण गराउन जानेको अत्यासलाग्दो भीड छ ।

संक्रमणको आशंकामा पिसिआर गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा पुग्नेहरूमा संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने डर देखिएको छ ।

अस्पताल प्रशासनले पिसिआर परीक्षण गराउन आउने सर्वसाधारणको भीड व्यवस्थापन गर्न सकिरहेको छैन । त्यहाँ स्वाब दिन आउनेहरूलाई ठेलमठेल हुनेगरी उभ्याइन्छ। त्यहाँको भद्रगोल देखेर स्वाब दिन पुग्नेहरू आतंकित बन्ने गरेका छन् ।

कर्मचारीले जसोतसो स्वाब संकलन गरिरहे पनि प्रशासनले भीड व्यवस्थापन गर्न नसक्दा उक्त अस्पतालमा भद्रगोल स्थिति सिर्जना भएको हो । साँघुरो ठाउँमा कोचाकोच गरी उभिँदा कोरोना संक्रमण फैलन सक्ने भन्दै कतिपय सर्वसाधारण स्वाब नै नदिई फर्कने गरेका छन् ।

पिसिआर गराउन आउँदा उल्टै रोग सर्न सक्ने डर भएपछि फर्कनुको विकल्प नभएको आइतबार अस्पताल प्रांगणमा भेटिएका सूर्यकुमार बस्नेतले बताए । ‘कन्ट्रयाक्ट ट्रेसिङमा परें । स्वाब दिऊँ भनेर आएको थिएँ,’ उनले भने, ‘यस्तो भीड छ, उल्टै कोरोना सर्ने सम्भावना देखें ।’ एकअर्कालाई धकेल्दै स्वाब दिन जाँदा कोरोना संक्रमण भएकाबाट नभएकालाई सर्ने डर देखिएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७