कोरोनाबाट थप चार जनाको निधन, नेपालमा मृत्तक संख्या ४८१ पुग्यो


१२ आश्विन २०७७, सोमबार
korona covid 19 1 scaled
फाइल फोटो

काठमाडौं, १२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप चार जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणबाट आज (सोमबार) थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मृत्यु हुनेमा २ महिला र २ पुरुष छन् ।

मृत्यु हुनेमा भक्तपुरकी ५१ वर्षीया महिला र सुनसरी, बाँके र गुल्मीका ३ पुरुष छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ । यो कूल संक्रमितको ०.६५ प्रतिशत हो ।

काठमाडौं उपत्यकामा ८१७ सहित देशभर थपिए १३ सय ५१ संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामै ८१७ जना कोरोना संक्रमिता थपिएका छन् ।

आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ जनामा कोरोना पुष्टि भएको हो । आइतबार उपत्यकामा ८०९ जनामा कोरोना पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५१ जना कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका ८१७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८० नमुना जाँचमध्ये आज १,३५१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७