ओम्नीलाई कालोसूचीमा राख्ने निणर्य यथावत् राख्न सर्वोच्चको आदेश

काठमाडौं, १३ असोज । सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई कालोसूचीमा राख्ने निणर्य यथावत् राख्न आदेश दिएको छ । सोमबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले यस्तो आदेश दिएको हो ।
ओम्नीले ९ असोजमा सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा राख्ने निणर्यविरुद्ध अदालतमा रिट दायर गरेको थियो । ओेम्नीका सञ्चालक पारस केसीले दायर गरेको रिटमा अदालतको यस्तो आदेश आएको हो ।
सरकारले २९ चैतमा यसअघि स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेर कारबाही प्रक्रिया अघि बढाएको थियो । २८ भदौमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कुनै पनि टेन्डरमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्ने निणर्य गरेको थियो ।
कार्यालयले कुनै पनि खरिद तथा बिक्री प्रक्रियामा भाग लिन नपाउने गरी एक वर्षसम्मका लागि कालोसूचीमा राखेको थियो । सरकारले स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द गरेको रिटमा फैसला आइनसक्दै कालोसूचीमा राख्ने निणर्य भएपछि ओम्नीअर्को रिटसहित सर्वोच्च गएको हो ।
सम्झौता रद्द र पाँच करोड रुपैयाँ जमानत जफत भएकोविरुद्ध सर्वोच्चले भदौ ४ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । उक्त समूहसँग सरकारले सवा अर्ब रुपैयाँभन्दा बढीकोे सामग्री खरिदको सम्झौता गरेको थियो ।
तर, मास्क, पञ्जा, पिपिईजस्ता सामग्री बजार मूल्यभन्दा बढी देखिएको र वेलामा सामान आपूर्ति नगरेको भन्दै स्वास्थ्य सेवा विभागले सम्झौता रद्द गरेको जनाएको थियो । आफूलाई सफाइ दिने मौका नदिई सम्झौता तोडेको भन्दै सम्झौता तोड्ने निणर्य खारेजीको माग गर्दै उक्त समूहले रिट दायर गरेको थियो । नयाँ पत्रिका दैनिकबाट