कोरोनाबाट एक स्वास्थ्यकर्मीसहित थप तीन जनाको मृत्यु

सुनसरी, १३ असोज । बाँकेको नेपालगञ्ज र सुनसरीको धरानमा उपचाररत थप तीन कोरोना संक्रमितको ज्यान गएको छ ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मोरङको सुनबर्सी-७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
ती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
उनको स्वास्थ्य जटिल बन्दै गएपछि आईसीयूमा राखिएको थियो । अवस्था नसुध्रिएपछि नोबेल मेडिकल कलेजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।
उनी प्रतिष्ठानमा असोज १० गते बिहान ७ बजे भर्ना भएका थिए । प्रतिष्ठानले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो । तर उपचारकै क्रममा आज बिहान ३ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
यस्तै बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका-१० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगञ्जका मृतक नेपालगञ्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एक जना संक्रमितको उपचारका क्रममा गए राति र एक जनाको बिहान ४ बजे मृत्यु भएको जनाएका छन् ।
दुवै जनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवै जना भेन्टिलेटरमा थिए । नेपालगन्जका मृतकको घर दाङको घोराही हो । उनी लामो समयदेखि नेपालगञ्जमा बस्दै आएका थिए ।