तीन महिनादेखि अवरुद्ध बेनी-बागलुङ सडक मर्मतपछि सञ्चालन


१३ आश्विन २०७७, मंगलवार
Beni Jomsome Road

बागलुङ, १३ असोज । तीन महिनादेखि अवरुद्ध बेनी-बागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको छ । गत असारदेखि विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको सडक मर्मतपछि सोमबारदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडकखण्डको तल्ली बान्द्रे, बागलुङ र म्याग्दीको सिमानामा पर्ने ढोडेनी खोला, रत्नेचौरको रानीबन लगायतका ठाउँमा पहिरो आएपछि गत असार महिनादेखि नै सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएपछि कुनै पनि यातायातका साधनहरु सञ्चालन हुन सकेका थिएनन् । सडक डिभिजन कार्यालयले मानिस र मेसिनको प्रयोग गरी पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालन गरेको बेनी नगरपालिका-१ का वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिए ।

यसअघि सडक तीन महिनासम्म अवरुद्ध हुँदा समेत मर्मतका लागि सडक डिभिजन कार्यालयले चासो नदेखाएको भन्दै सडक प्रयोग गर्ने म्याग्दी र बागलुङका उपभोक्ताहरुले डिभिजन कार्यालयमा धर्नासहित ध्यानाकर्षण पत्र बुझाएका थिए ।

बेनी-मालढुङ्गा सडकको विकल्पका रूपमा रहेको बेनी-बागलुङ सडक अवरुद्ध हुँदा बेनपा-१ रत्नेचौर र वडा नं २ ज्यामरुककोटका साथै बेनी र बागलुङ आवतजावत गर्ने सयौं यात्रु समस्यामा परेका थिए । सडक अवरुद्ध हुँदा स्थानीयले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई बजार ल्याउन समस्या भएको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७