कोरोना रोकथाम र उपचारका लागि चन्द्रागिरिको दुई करोड २७ लाख खर्च


१३ आश्विन २०७७, मंगलवार
chandragiri nagarpalika

काठमाडौं, १३ असोज । चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ ।

काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड-१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री खरीद, राहत वितरणलगायतका शीर्षकमा हालसम्म उक्त रकम खर्च गरेको हो ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोभिड-१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख १६ हजार ९५९ खर्च भएको जानकारी दिए ।

नगरपालिकाले विभिन्न वडाका गरिब, विपन्न परिवारलाई राहत वितरणका लागि रु एक करोड ६४ लाख ३१ हजार, स्वाव परीक्षण, औषधि खरिद, स्प्रे, प्रचार-प्रसार, एम्बुलेन्स सञ्चालनका लागि रु ४० लाख ८१ हजार, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनका लागि रु २२ लाख तीन हजार खर्च गरेको छ । चन्द्रागिरिले नगरपालिकाभित्रका विभिन्न विद्यालयमा क्वारेन्टाइन कक्ष निर्माण गरेर कोरोना सङ्क्रमितलाई राख्दै आएको छ ।

चन्द्रागिरिलाई कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि वाग्मती प्रदेशले रु १२ लाख र नगरस्तरीय विपद् व्यवस्थापन कोषमा रु ११ लाख ७४ हजार सहयोग भएको थियो । बाँकी रकम नगरपालिकाले आफ्नै कोषबाट खर्च गरेको हो ।

नगरपालिकामा सोमबार छ कोरोना सङ्क्रमित थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३९० पुगेको छ । तीमध्ये २७६ जना डिस्चार्ज भइसकेका छन् । बाँकी सक्रिय सङ्क्रमितमध्ये २५ जना अस्पताल आइसोलेसन र ८५ जनाको होम आइसोलेसनमा राखेर उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

हालसम्म चन्द्रागिरिमा कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भइसकेको छ । चन्द्रागिरिले कोरोना सङ्क्रमणबाट सिकिस्त भएका बिरामीलाई सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र मनमोहन अस्पताल दहचोकमा राखेर उपचार गराउँदै आएको छ ।

चन्द्रागिरि वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् । उपत्यकाका अरु नगरपालिकाको तुलनामा चन्द्रागिरिमा कोरोना सङ्क्रमितको संख्या कम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७