मन्त्रिमण्डल पुनर्गठनबारे ओली-प्रचण्डबीच आज पनि बालुवाटारमा छलफल

कसलाई राख्ने र कसलाई हटाउने भन्नेमा दुई अध्यक्षको मत अझै विभाजित


१३ आश्विन २०७७, मंगलवार
kp oli prachanda scaled

काठमाडौं, १३ असोज । मन्त्रिमण्डल पुनगर्ठनलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (मंगलबार) पनि बालुवाटार छलफलमा जुटेका छन् ।

केही बेरअघि बालुवाटारमा शुरु भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती काम टुंग्याउने सन्दर्भमै कुराकानी भइरहेको स्रोतको जानकारी दिएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा ओली-प्रचण्ड तीन दिनदेखि लगातार छलफलमा छन् । तर, छलफल टुङ्गोमा पुग्न सकेको छैन । प्रधानमन्त्री ओली र प्रचण्डबीच मोडालिटीमै कुरा नमिलेको हरिबोल गजुरेलले जानकारी दिएका छन् ।

कसलाई राख्ने र कसलाई हटाउने भन्नै दुई अध्यक्षको मत बाझिएपछि छलफल निष्कर्षविहीन बन्दै आइरहेको छ । मन्त्रिपरिषद् पुनर्गठनमा पार्टी उपाध्यक्ष वामदेव गौतम समस्याको रुपमा देखिएको स्रोतले बताएको छ ।

अध्यक्ष प्रचण्ड मन्त्रिमण्डल पुनर्गठन गर्दा नयाँलाई अवसर दिनु पर्ने पक्षमा देखिएका छन् भने केपी शर्मा ओली केहिलाई निरन्तरता दिनुपर्ने पक्षमा देखिएका छन् । ओली गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आपूर्तिमन्त्री लेखराज भट्टलाई निरन्तरता दिनु पर्ने अडानमा छन् ।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल उपाध्यक्ष गौतमलाई पुनर्गठन हुँदा मन्त्री बनाउनुपर्ने पक्षमा छन् । तर, ओलीले अदालतमा मुद्दा नै परिसकेकाले बनाउन नहुने पक्षमा छन् ।

वामदेवविरुद्धको मुद्दाको पेसी भोलि अर्थात् असोज १४ गतेलाई तोकिएको छ । भोलि सुनुवाइ हुने सम्भावना रहेकाले त्यसपछि मात्रै पुनर्गठन गर्नुपर्ने तीन नेताको अडान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७