घरायसी विवादमा बुहारीको हत्या, जेठाजु पुर्पक्षका लागि थुनामा


१३ आश्विन २०७७, मंगलवार
jail Yl2qtyT8Xr

काभ्रेपलाञ्चोक, १३ असोज । जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका-८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका क्रममा ४२ वर्षीय अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

अदालतका श्रेस्तेदार गोविन्द घिमिरेका अनुसार रञ्जनाका पति शङ्करलाई रु ५० हजार धरौटीमा रिहा गरिएको छ भने ससुरा विष्णुप्रसाद र सासू चित्रकुमारीलाई सामान्य तारेखमा छाडिएको छ ।

बयानका क्रममा जेठाजु सुदर्शनले ३५ वर्षीया बुहारीको हत्यामा भाइ र बाबुआमाको संलग्नता नरहेको, आफू एक्लैले हत्या गरेको स्वीकारेका थिए ।

रञ्जनाको पति शङ्करले धरौटी रकम बुझाउन नसकेपछि थुनामा गएका छन् । जेठाजु सुदर्शनले घरायसी विवादका क्रममा गत भदौ १८ गते बिहान भाँडा माझिरहेको अवस्थामा टाउको र घाँटीमा बञ्चरो प्रहार गरी रञ्जनाको हत्या गरेका थिए ।

पारिवारिक स्रोतका अनुसार रञ्जना र जेठाजु सुर्दशनबीच घरायसी अंशबण्डा तथा भुकम्पपीडित अनुदानमा निर्माण गरेको घरका विषयमा पटक पटक विवाद हुँदै आएको थियो । रञ्जना स्थानीय स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७