बागलुङ बाढी पहिरो : महिना दिन बित्यो वेपत्ता १६ जना अझै भेटिएनन्


१३ आश्विन २०७७, मंगलवार
baglung landslide 8eSCIvnMnd

बागलुङ, १३ असोज । यो वर्षको मनसुन शुरु भएयता बाढी पहिरोमा परी बेपत्ता भएका बागलुङका १६ जनाको स्थिति अझै अज्ञात छ ।

मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका-९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बागलुङ नगरपालिका-१ मा खसेको पहिराले टिपर पुर्दा हराउनुभएका चालक निर्मल पुन पनि अझैसम्म बेपत्ता छन् ।

महिना दिन बित्न लाग्दा समेत बाढीमा परेकाहरु नभेटिएपछि प्रहरीले खोजबिन गर्न छाडेको छ । सुरक्षाकर्मी र उद्धारकर्ता हप्तौंसम्म बेपत्ताको खोजीमा जुटेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ता भएका सकुशल भेटिने सम्भावना न्यून रहेको बताए ।

सुरक्षाकर्मीले छिमेकी गुल्मीसम्म पुगेर बाढीले बगाएका शवको उद्धार गरेका थिए । जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धीरेन्द्रराज पन्तले बेपत्ता भएकाका परिवारलाई पनि मृतक सरह राहत दिलाउन प्रक्रिया अगाडि बढाइएको बताए ।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढी पहिरोमा बेपत्ताको खोजबिन र स्थलगत अध्ययनका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

‘उपसमितिले बेपत्ताहरुको खोजीसँगै वस्तुगत अवस्थाको अध्ययन गरी प्रतिवेदन तयार गर्छ, त्यसपछि राहतको प्रक्रिया शुरु हुन्छ’, सूचना अधिकारी पन्तले भने । बेपत्ता नभेटिएको स्थितिमा मृतक सरहको राहत सम्बन्धित परिवारले पाउने छन् ।

सरकारले मृतक परिवारलाई रु दुई लाख राहत प्रदान गर्दै आएको छ । यस्तै एउटै परिवारमा अन्य सदस्यको पनि मृत्यु भएमा थप रु एक लाखका दरले राहत उपलब्ध हुने गरेको छ । बेपत्ता भएका परिवारलाई पनि तत्कालीन राहतस्वरुप रु १५ हजार दिने गरिएको छ ।

यो वर्ष बाढी पहिरोका कारण ढोरपाटनसहित जैमिनी नगरपालिका, निसीखोला, तमानखोला, ताराखोला, बडिगाड, काठेखोला गाउँपालिकालगायत क्षेत्रमा जनधनको क्षति भएको छ । भूजीखोलाको बाढीमा सबैभन्दा बढी २२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७