नेकपामा ‘पेचिलो’ बन्दै मन्त्रिमण्डल पुनर्गठन, ओली-प्रचण्डबीच के मा मिलेन कुरा ?


१३ आश्विन २०७७, मंगलवार
kp oli prachanda

काठमाडौं, १३ असोज । मन्त्रिमण्डल पुनर्गठनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा शुरु भएको कसरत पेचिलो बन्दै गएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (मंगलबार) बालुवाटारमा भएको छलफल पनि निष्कर्षविहीन बनेकोे छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड मन्त्रिमण्डल पुनर्गठन, राजनीतिक नियुक्ति तथा पार्टी एकीकरणका बाँकी काम टुंग्याउनेलगायतका विषयमा गत बिहीबारदेखि निरन्तर छलफलमा छन् । तर, मुख्य मानिएको मन्त्रिमण्डल पुनर्गठनको विषयमै दुई अध्यक्षको धारण फरक परेपछि अन्य विषय अगाडि बढ्न सकेका छैनन् ।

आज प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको तीन घण्टा लामो छलफलमा पनि सहमति जुट्न नसकेपछि छलफल निष्कर्षविहीन बन्न पुगेको हो । मन्त्रिपरिषद् पुनर्गठनको मोडालिटी, मन्त्रीको जिम्मेवारी हेरफेरका विषयमा अध्यक्षद्वयबीच कुरा नमिलेपछि पछिल्ला छलफल निष्कर्षविहीन बनेका हुन् ।

६ असोजमा बसेको सचिवालय बैठकले संवैधानिक अङ्गमा नियुक्त हुनयोग्य व्यक्तिहरूको सूचीका लागि रोस्टर बनाउने, १० दिनभित्र एकीकरणको बाँकी काम सम्पन्न गर्न गृहकार्य गर्ने गरी ओली र प्रचण्डलाई जिम्मेवारी दिएको थियो ।

त्यसअघि ४ असोजमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका नीतिगत आधारमा केन्द्रित रहेर छलफल भएको थियो । दुई अध्यक्षबीचको अहिलेसम्मको छलफल कसलाई मन्त्रि बनाउने र कसलाई हटाउने भन्नेमै मुख्य गरी अल्झिएको नेकपा स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली केहिलाई यथावत राखेर मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने पक्षमा छन् । ओली गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आपूर्तिमन्त्री लेखराज भट्टलाई निरन्तरता दिनु पर्ने पक्षमा छन् ।

यता अर्का कार्यकारी अध्यक्ष प्रचण्ड योग्यता पुगेका र क्षमता भएका नयाँलाई मन्त्रिमण्डलमा ल्याउनु पर्ने प्रस्ताव राखिरहेका छन् । यस्तै दुई अध्यक्षबीच मन्त्रिको भागवण्डाका विषयमा समेत कुरा मिलिनसकेको स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७