कोरोनाबाट थप १० जनाको निधन, नेपालमा मृत्तक संख्या ४९१ पुग्यो


१३ आश्विन २०७७, मंगलवार
korona covid 19 1 scaled
फाइल फोटो

काठमाडौं, १३ असोज । नेपालमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १० जनाको ज्यान गएको छ ।

निधन हुनेमा तीन महिला र सात पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ ।
निधन हुनेमा काठमाडौंका एक महिला र दुई पुरुष गरी तीन जना, बाँकेका एक महिला र दुई पुरुष गरी तीन जना छन् ।

त्यसैगरी मोरङ, महोत्तरी र चितवनमा एक-एक पुरुष र सर्लाहीकी एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकामा ९३४ सहित देशभर थपिए १५ सय १३ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका तीन जिल्लामा आज (मंगलबार) थप ९३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो एकै दिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै धेरै भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका एक हजार ५१३ जना कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९३४ जना रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा ७३१ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५५ हजार ३७१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८९१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ९ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ९ हजार ६८९ जना र होम आइसोलेसनमा १० हजार ७०७ जना रहेका छन् । आजसम्म देशभर हजार जना क्वारेन्टिनमा रहेका छन् ।

देशभर ३४ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २१३ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

शनिबार देशभर एक हजार २०७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार १४७ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।

आइतबार देशभर एक हजार ५७३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने ८८५ जना डिस्चार्ज भएका थिए । आइतबार नै देशभर १० जनाको मृत्यु भएको थियो । सोमबार देशभर कोरोना संक्रमित एक हजार ३५१ जना थपिएका छन् भने ७४२ जना डिस्चार्ज भएका छन् । सोमबार कोरोना संक्रमणबाट देशभर ४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७