आन्तरिक उडान बढ्ने : ९० प्रतिशत अकुपेन्सी


१३ आश्विन २०७७, मंगलवार
airlines

काठमाडौं, १३ असोज । कोभिड-१९ महामारीबीच स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर असोज ५ देखि सञ्चालनमा आएको मुलुकको आन्तरिक उडानमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको छ ।

महामारीबाट सुरक्षित रहन स्वास्थ्य प्रोटोकल पालना गरी आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका हुन् । नजिकिएको दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान संख्या पनि थप्दै छन् ।

उडानको पहिलो साता उत्साहवर्धक रहेको कम्पनीले उल्लेख गरेका छन् । तुलनात्मक रुपमा हवाई सेवा महामारीबाट सुरक्षित र चाँडो हुने भएकाले पनि यात्रुको आकर्षण बढेको हो । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने निणर्य गरेको थियो ।

शुरुवाती चरणमा सातादिनसम्म सामान्य अवस्थाको उडानको तुलनामा १५ प्रतिशत मात्रै उडान गर्न पाउने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको थियो । आगामी अक्टोबर १ तारिखदेखि आन्तरिक उडान संख्या बढाउने प्राधिकरणले तयारी गरेको छ । भदौ १६ देखि सञ्चालनमा आएको मुलुकको अन्तर्राष्ट्रिय उडान संख्या थप गर्ने निणर्य यसअघि नै भइसकेको छ ।

आन्तरिक उडान सञ्चालन गरिरहेका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्रीएयरलाइन्सलगायत उडान अकुपेन्सी उत्साहवर्धक छ । सातादिनको अवधिमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको कम्पनीले उल्लेख गरेका छन् ।

चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान संख्या बढाउन प्राधिकरण समक्ष उडान अनुमतिका लागि निवेदन दिएका छन् । प्राधिकरणले पनि हवाई व्यवसायीको माग बमोजिम उडान संख्या बढाउने निष्कर्षमा पुगेको छ ।

प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले आन्तरिक उडानको संख्या बढाउने प्राधिकरणले निणर्य गरिसकेको जानकारी दिए । यद्यपि, कुन एयरलाइन्सलाई कति उडान संख्या दिने भन्ने आज साँझसम्म निणर्य हुने उनको भनाइ छ ।

सीमित संख्याको उडानमा पनि आन्तरिक वायुसेवा कम्पनीले सबै गन्तव्यमा उडान सेवा सञ्चालन गरिरहेका छन् । बुद्ध एयरले शुरुमा राजविराज बाहेक सबै गन्तव्यमा उडान गर्दै आएकामा अहिले राजविराजसहित सबै गन्तव्यमा उडान सञ्चालन गरिएको जनाएको छ ।

बुद्धले अहिले दैनिक २२ उडान गरिरहेको छ । कम्पनीले आगमन र प्रस्थान गरी ४४ उडान भर्दै आएको छ । अहिले भारतको बनारसबाहेक सबै गन्तव्यमा उडान गरिरहेका कम्पनीले जनाएको छ । सातामा १५ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको पनि कम्पनीले उल्लेख गरेको छ । बुद्धले सामान्य अवस्थामा दैनिक १०० उडान गर्ने गरेको थियो । कम्पनीले १३ गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।

यस्तै प्रतिस्पर्धी यती एयरलाइन्सले पनि आफ्ना सबै आठ गन्तव्यमा उडान सञ्चालन गरिरहेको र ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको जनाएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौैलाले शुरुवाती चरणमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको बताए । महामारीबाट जोखिन सुरक्षित र सुलभ यात्र हुने भएकाले पनि यात्रुको आकर्षण बढेको उनले उल्लेख गरे ।

यतीले अहिले दैनिक दुईतर्फी ३८ उडान गरिरहेको छ । कम्पनीले सामान्य अवस्थामा दुईतफी ८० वटासम्म उडान गर्ने गरेको थियो । उहाँका अनुसार नजिकिएको चाडपर्व र यात्रुको मागबमोजिम उडान संख्या बढाउन नियमित उडान अनुमतिका लागि प्राधिकरणसँग माग गरिएको छ । उडान पनि स्वीकृत भइसकेको छ ।

यतीले अहिले विराटनगर, पोखरा र भरतपुरमा समान दुई तथा अन्य गन्तव्यमा एक-एक उडान गरिरहेको छ । यतीको भगिनी संस्था तारा एयरले दुर्गम क्षेत्रमा यात्रु तथा कार्गो उडान गरिरहेको छ । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले कम्पनीको उडान उत्साहजन रहेको र उडान संख्या बढाउने अन्तिम प्रक्रियामा रहेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७