कात्तिकदेखि विदेशी पर्यटकलाई अनअराइभल भिसा, पिसिआर अनिवार्य


१४ आश्विन २०७७, बुधबार
chinese tourist in nepal

काठमाडौं, १४ असोज । कात्तिकदेखि विदेशी पर्यटकलाई अनअराइभल भिसा खुला गरेर सरकारले नेपालको पर्यटन क्षेत्र खुला गर्ने भएको छ ।

कोरोनाका कारण ५ चैतदेखि बन्द गरिएको अनअराइभल भिसा खोल्ने निणर्य गरेसँगै विदेशी पर्यटकलाई नेपाल आउन सहज हुने भएको छ । तर, नेपाल भित्रने पर्यटकले पिसिआर रिपोर्ट ल्याउनुपर्ने तथा ७ दिन क्वारेन्टाइनमा बसेर पुनः पिसिआर परीक्षणपछि मात्रै घुमफिरमा निस्कन पाउने छन् ।

व्यवसायीले भने बढीमा तीन दिन क्वारेन्टाइनमा राख्दा पुग्ने बताएका छन् । नेपाल पर्यटन बोर्डले पनि क्वारेन्टाइनको अवधि घटाउन पहल गरिरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले बताए । उनी भन्छन्, ‘नेपाल आउँदा ७२ घन्टाको पिसिआर रिपोर्ट देखाउनु पर्नेछ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ ।’

इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्विट्जरल्यान्ड, सोमालिया, क्यामरुन, लाइबेरिया, इथोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउँछन् । ट्रेकिङ एजेन्सिज् एसोसिएन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले क्वारेन्टाइनको अवधि घटाउनुका साथै विमानस्थलमै पिसिआर गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्तिबराबरको बिमा पनि अनिवार्य गरिएको छ । पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोना बिमा गर्नुपर्नेछ ।

कोभिड-१९ को जोखिम कायम रहेकाले सरकारले पर्यटकहरूलाई सहरी क्षेत्रमा भन्दा पनि पहाडी र हिमाली भेगमा हुने पदयात्रा र पर्वतारोहणको प्रवद्र्धनलाई प्राथमिकता दिने भएको छ । विश्व नै एकल पर्यटनमा लागेकाले नेपाललाई सुवणर् अवसर हुन सक्ने सिइओ रेग्मीको भनाइ छ ।

सहरबाट गाउँमा पर्यटन पुर्‍याउन कोभिड-१९ नेपालका लागि अवसर हुन सक्ने भएकाले सरकारले सोहीअनुसार प्रवद्र्धन गर्ने उनले बताए । १ असोजदेखि होटेल, रेस्टुरेन्ट र एयरलाइन्स खुलेसँगै प्रमुख पर्यटकीय क्षेत्रहरूमा चहलपहल सुरु भइसकेको छ ।

सोहीअनुसार एयरलाइन्स कम्पनीहरू र ट्राभल कम्पनीहरूले समेत आन्तरिक प्याकेज सुरु गरिसकेका छन् । विदेशी पर्यटक भित्र्याउने निणर्य सरकारले गरे पनि पर्यटकहरूलाई नेपालको सुरक्षाको विषयमा विश्वास दिलाउनु अहिलेको महत्वपूणर् काम भएको होटेल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले सातामा दुई दिन बिदा दिनुपर्ने प्रस्ताव पर्यटन मन्त्रालयले बनाइरहेको छ । ‘सरकारले पैसा दिएर घुम्न नपठाए पनि बिदा दिएमा अर्थतन्त्रमा नै राम्रो गर्न सक्छ भनेर प्रस्ताव गरेका हौँ,’ सिइओ रेग्मी भने ।

विगतमा सरकारी कर्मचारीलाई बिदा दिएर घुम्न पठाइए पनि खासै लाभदायक देखिएको थिएन । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको गत मंगलबारको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेस गर्ने निणर्य गरेको थियो ।

पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागकमा प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको समिति निर्माण गरिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७