कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै


१४ आश्विन २०७७, बुधबार
Eps1

काठमाडौं, १४ असोज । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ ।

नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड-१९ का कारण पछि सरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुस र माघ महिनामा परीक्षा गर्नेगरी तयारी भइरहेको जानकारी दिए । उनले सन् २०२० का लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सात-आठ महिना ढिला भए पनि परीक्षा हुने जानकारी दिए ।

उनले कोरियाको मानव संसाधन विभाग (एचआरडी) ले कोरोनाको जोखिम अझै कायम रहेकाले कोरिया भाषा परीक्षा अझै तीन-चार महिना धकेलिन सक्ने सङ्केत गरेको बताए । उनले भने, ‘एचआरडीसँग हामी सम्पर्कमै छौँ । सहज हुने बित्तिकै परीक्षा हुन्छ तर तीन-चार महिनायता सहज होलाजस्तो पनि देखिँदैन ।’

भाषा परीक्षा नगर्ने बारेमा अहिलेसम्म कोरियाको ईपीएस हेर्ने एचआरडीले कुनै जानकारी नदिएकाले परीक्षा हुन्छ तर ढिला भने हुने भयो, उनले थपे । सन् २००८ देखि सुरु भएको ईपीएस भाषा परीक्षा यसअघि सन् २०१२ मा पनि भएको थिएन । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७