तरुनीको चक्करमा, जीन्दगी अक्करमा


१४ आश्विन २०७७, बुधबार
mahila

काठमाडौं, १४ असोज । महाकाली सिञ्चाई आयोजना कञ्चनपुरका निमित्त प्रमुख डिभिजनल इञ्जिनियर प्रचण्डदेव बिष्ट सुन्धाराको एउटा होटलमा मध्यरात एकातिर ११ लाखको मुठो र अर्कोतिर दुइटी तरुनीसँगै भेटिए,अहिले अख्तियारको हिरासतमा छन् तर म्याद थप्न अदालत लाँदा कत्ति पनि पश्चातापमा देखिएनन् ।

गत शुक्रबार स्रोत नखुलेको त्यति धेरै रकम बोकी हिंडेको अभियोगमा थुनेरै छानवीननिम्ति म्याद थप्ने प्रयोजनको लागि विशेष अदालत लगेको बेला त्यस्तो संवेदनशील विषयमा पनि उनी गम्भीर नदेखिएपछि सबै छक्क परेका हुन् । म्याद थप्नुअघि न्यायाधीशले ‘साथमा रहेको ११ लाख चाहिँ के हो नि ?’ भनेर सोधेका थिए । जवाफमा उनले ‘सापटी रकम तिर्न कञ्चनपुरबाटै ल्याएको’ भनिदिए ।

अहिलेको जमानामा ,त्यो पनि पढे-लेखेको मान्छेले एटीएम कार्ड, बैंक ट्रान्सर्फर, इ-बैंकिङ्गको सुविधा र सुरक्षालाई छाडेर ११र लाखको बिटो बोकी त्यति लामो बाटो पार गर्नु नै रहस्यमय हो । कञ्चनपुरबाट आएकै दिन नगदसहित सुन्धारामा दुइटी तरुनीसँग नारिँदै बिष्टले मनाएको जन्मदिन फेसबुक बमोजिमको हो वा साँच्चिकै तिथिअनुसारको हो त्यो पनि खुलेको छैन ।

प्रायः सबैले आफ्नो जन्मदिन घरमा वा बाहिर भए नजिकका परिवार र आफन्तसँग बसेर मनाउँछन् । तर, कोरोना महामारीवीच त्यो पनि मध्यरात लजमा दुई जना तरुनीलाई दुईतिर राखेर बसेको अवस्थामा फेला परेपछि अख्तियारका प्रहरीलाई उनले ‘बर्थ डे सेलिब्रेशन’ मनाएको बताएका थिए ।

उनले अदालतमा पनि हलुका ढङ्गले ‘बर्थ डे सेलिब्रेशन’ कै अड्डी लिए । त्यसपछि न्यायाधीशहरू कृष्ण गिरी,शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले रङ्गिला इञ्जिनियरलाई १५ दिन हिरासतमा राख्न पाउने गरी म्याद थपिदिएको छ ।

हाकिमलाई सुदूर पश्चिमबाट हान्निएर आई झोलाभरी नोट र काखमा तरुनी राखेर कोरोना सङ्क्रमणको महामारीमा पनि लज पुग्नुपर्ने कस्तो बाध्यता आइपरेको होला ? यो घटनाले यतिबेलाको सुशासनको दृष्यलाई पनि उदाङ्गो बनाइदिएको छ । पक्राउ परेका दुबै युवतीलाई प्रहरीले कागज गराएर छाडेको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७