उठ्दै भूकम्पले ध्वस्त ऐतिहासिक दरबारहरु, प्राधिकरणले यसरी गर्दैछ काम


१४ आश्विन २०७७, बुधबार
puna nirman

काठमाडौं, १४ असोज । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु पुनर्निर्माणको काम विस्तारै अघि बढ्दैछ भने ध्वस्त बनेका सम्पदा विस्तारै पुरानै स्वरुपमा उठ्दै छन् ।

दरबारहरुको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुनर्निर्माणको काम भइराखेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जानकारी दिएको छ । काठमाडौंका ऐतिहासिक सिंहदरबार, केसरमहल, बालमन्दिर, बबरमहललगायतका दरबारहरुको प्रबलिकरण विधिमार्फत पुननिर्माणको काम भइराखेको प्राधिकरणले जनाएको छ ।

२०७२ सालको भूकम्पबाट क्षति भएका सिंहदरबारको मूख्य प्रशासनिक भवनसहित काठमाडौंमा रहेका केसरमहल, बाल मन्दिर र बबरमहल दरबार विस्तारै उठने प्रक्रियामा छन । दरबारहरुमा रहेका ऐतिहासिक पुरातात्विक सम्पत्तिहरुको मौलिकतामा कुनै क्षति नहुने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रबलिकरण विधिमार्फत पुनर्निर्माण गरिरहेको छ ।

प्राधिकरणका अनुसार सिंहदरबारको मूख्य प्रशासनिक भवनको पूर्वपट्टीको भागको सम्पूणर् कार्य आगामी मंसिर महिनाभित्रमा सम्पन्न हुने जनाइएको छ । यो भवनको पुनर्निर्माणको काम सम्पन्न भएपनि फायरफाइटिङ, इन्टेरियर, ल्याण्डस्केपिङ र सुरक्षालागयतको काम भइराखेको प्राधिकरणका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले बताए । यो भवनको कुल लागत भ्याट बाहेक ५५ करोड ९४ लाख रपैयाँ रहेको छ । त्यस्तै सिंहदरबारको पश्चिमपट्टीको मोहडाको पुनर्निर्माणले पनि तीब्रता पाएको छ ।

यो भवन पनि प्रबलीकरण विधिमार्फत पुनर्निर्माण भइराखेको हो । ऐतिहासिक महत्वका वस्तुहरुलाई जस्ताको तस्तै जोगाउने गरी पुरानै निर्माण सामग्रीकोे प्रयोग गरि पुरानै विधिमार्फत काम भइराखेको विश्वकर्माले बताएका छन् । यो भवनको कूल लागत भ्याटबाहेक ५० करोड रुपैयाँ छ भने हालसम्म ३५ प्रतिशत प्रगति भएको छ । यो भवन २०७८ भदौ ५ गते भित्रमा सम्पन्न हुनेछ ।

त्यस्तै काठमाडौंको केशरमहल दरबारको पुनर्निर्माण हालसम्म २० प्रतिशत सम्पन्न भएको छ । भ्याट बाहेक ५९ करोड ५० लाख रुपैयाँ बजेटमा पुनर्निर्माण हुन लागेको यो दरबार २०७८ मंसिर १२ गतेभित्रमा सम्पन्न हुनुपर्नेछ । बबरमहल दरबारको निर्माण कार्यमा पनि २० प्रतिशत प्रगति भएको प्राधिकरणका आयोजना उपनिर्देशक विश्वकर्माले बताएका छन् ।

यो दरबारको कूल लागत भ्याटबाहेक ८६ करोड रुपैयाँ छ भने यसको पुनर्निर्माण २०७८ असार मसान्त सम्ममा सम्पन्न भइसक्नुपर्नेछ । यस्तै बालमन्दिरको पुनर्निमाणमा पनि १५ प्रतिशत प्रगति भएको छ । भ्याट बाहेक कूल ५५ करोड रुपैयाँ लागतमा पुनर्निमाण भइरहेको यो दरबार २०७८ मंसीर मसान्त सम्ममा सम्पन्न हुनेछ ।

चार वटै दरबारको पुनर्निमाण हुँदा ऐतिहासिक पुरातात्विक कलाकृतिहरु नविग्रने गरी पुरानै निर्माण सामग्रीको प्रयोग गरिएको छ । सुर्कि, फलाम, चुना, काठ लगायतको प्रयोग गरेर पुरानै विधिबाट प्रवलिकरण गरिरहेको आयोजना उपनिर्देशक विश्वकर्माले बताए । पुनर्निमाणको काम हुँदा राष्ट्रिय भवन निर्माण संहिताले मागेको सुरक्षा प्रत्याभूत हुने गरी प्रबलिकरणको काम भइरहेको पनि विश्वकर्माले बताए ।

पुरानै शैली, पुरानै निर्माण सामग्री, पुरानै पद्धति र पुरानै कलाकृतिलाई ‘जस्ताको तस्तै तर बलियो प्रशस्तै’ भन्ने सिद्धान्तबाट पुनर्निमाणको काम भइरहेको उनले बताए । तर सिंहदरबारको पूर्वी मोहडाको पुनर्निमाणमा भने छड र सिमेन्टको प्रयोग गरिएको छ ।

यसअघि २०३० सालमा आगलागीबाट क्षति भएपछि यो भवनको निर्माण सिमेन्ट र छडको प्रयोग भई गरिएको थियो । त्यसैले अहिले पनि पर्खालको भित्र र बाहिर ज्याकेटिङ प्रविधिमार्फत बाँधेर प्रबलिकरण गरिएको उनले बताए ।

दरबारहरुको पुनर्निर्माण तोकिएको समयमा सम्पन्न हुनेमा भने कोभिड-१९ का कारण चुनौति थपिएको छ । निर्माण सामग्रीको नियमति आपूर्ति श्रृङ्खलामा असर परेको र देश बाहिरबाट निर्माण सामग्री ल्याउन नसक्दा समस्या भएको प्राधिकरणका आयोजना उपनिर्देशक विशवकर्मा बताउँछन् ।

यसबाहेक कोरोनाका कारण दक्ष कालिगढहरुको समेत अभाव भएको छ । तर पनि कालिगढहरुलाई अतिरिक्त काम गर्ने वातावरण तयार गरेर भए पनि समयमै सम्पन्न गर्ने योजनाका साथ काम गरिएको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७