बामदेवको मुद्दा हेर्दाहेर्दैमा, थप सुनुवाइ शुक्रबार


१४ आश्विन २०७७, बुधबार
bamdev gautam2
फाइल फोटो

काठमाडौं, १४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा सदस्य पदविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुक्रबारसम्मलाई सरेको छ ।

आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासको पूणर् इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानून व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको हो ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले सुनुवाई नसकिएकाले शुक्रबारसम्म सरेको जानकारी दिएका छन् ।

नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनय नबदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूणर् इजलासमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, दिनेश त्रिपाठी, हरि उप्रेती, पंकज कणर्लगायतले बहस गरेका थिए । विपक्षी सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका थिए ।

उक्त रिटमाथि यसअघि असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बामदेवको पद यथास्थितिमा राख्न र उनलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७