दसैंमा पनि सिनेमा हल नखुल्ने


१५ आश्विन २०७७, बिहीबार
qfx butawal 3062020080403 1000x0 1

काठमाडौं, १५ असोज । हरेक वर्ष दसैँको अवसर पारेर नयाँ चलचित्र प्रदर्शन गर्न निर्माताहरूबीच हानथाप हुन्थ्यो । दसैँमा हुने लामो सार्वजनिक बिदाका कारण चलचित्रको व्यापारमा फाइदा हुने भएकाले छायांकनमा जानुपूर्व नै चाडपर्वको छेको पारेर प्रदर्शन मिति तोकिन्थ्यो ।

गत वर्षको माघ-फागुनमै कलाकार तथा निर्माता दीपकराज गिरीको ‘छक्का पन्जा ४’, झरना थापाको ‘ए मेरो हजुर ४’, नारायण रायमाझीको ‘परदेशी २’ र चलचित्र ‘प्रेमपूजा’ले यो दसैँमा प्रदर्शन गर्ने घोषणा गरिसकेका थिए ।

तर, कोरोना भाइरसका कारण रिलिज मिति तोकिएका चलचित्रहरू छायांकनमै जान सकेनन् । कोरोना संक्रमण अझै फैलिरहेकाले कहिले छायांकनमा जाने, कहिले प्रदर्शन हुने भन्ने अनिश्चित भएको छ । निर्माता तथा कलाकार गिरीले ‘छक्का पन्जा ४’ को स्क्रिप्ट लेखनलाई केही समयका लागि रोकेका छन् । अब कहिले खुल्छ र अवस्था राम्रो बन्छ अनि दर्शकको मनोविज्ञान कस्तो हुन्छ, त्यसअनुसार काम गर्ने योजनामा छन् उनी । गिरीका अनुसार एक डेढ वर्षसम्मका लागि काम रोकिने सम्भावना पनि त्यत्तिकै छ ।

चलचित्र विकास बोर्ड, चलचित्र संघ र निर्माता संघले हल सञ्चालन, छायांकनको वातावरण मिलाइदिन नोबेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सिसिएमसी)लाई ज्ञापनपत्र बुझाइसकेका छन् । बोर्डका अध्यक्ष दयाराम दाहाल अब सरकारले छिट्टै सहज परिस्थिति बनाएर काम गर्ने बाटो खुलाइदिने आशा व्यक्त गर्छन् ।

‘हामीले प्रस्ताव बुझाइसकेका छौँ । हेरौँ, सरकारले कस्तो निणर्य लिन्छ,’ दाहाल भन्छन्, ‘यही दिनदेखि सिनेमा हलहरू खुल्छ भनेर भन्न सकिँदैन । आशावादी हुनुबाहेक अरू विकल्प पनि छैन ।’

तर, दसैँअघिबाटै सिनेमा हल खुल्नेबारे आशंका व्यक्त गर्छन् दाहाल । सबै क्षेत्र खुल्न थालेकाले चलचित्र क्षेत्र पनि छिट्टै खुल्ने अवस्था सरकारले बनाइदिनुपर्ने उनी बताउँछन् । नत्र आफूहरूले मात्र केही गर्न सकिने अवस्था रहेको बताउँदै दाहाल भन्छन्, ‘अब छिट्टै हलहरू सुचारु हुने अवस्था आउला कि भन्ने लागेको छ ।’

कोरोना महामारीकै बीचमा विदेशमा सिनेमा हलहरू सञ्चालनमा आइसकेका छन् । फुटबलका दर्शकहरू रंगशाला पुगेर हेर्न थालेका छन् । सिटहरूमा दूरी बनाएर, स्यानिटाइजर प्रयोग गरेर, स्वास्थ्यको चेकअप गरेर हलहरू सञ्चालनमा आइसकेका छन् । हलिउडमा क्रिस्टोफर नोलनको फिल्म ‘टेनेट’ आंशिक रूपमा अवस्था हेरेर केही देशमा प्रदर्शन भइसकेको छ ।

अष्टनारायण हलका सञ्चालक सोहित मानन्धर पनि दूरी कायम गरेर हल सञ्चालन गर्दा हुने धारणा राख्छन् । उनी भन्छन्, चलचित्र दसैँमा हो बढी चल्ने । चलचित्रको बजार चाडपर्वकै हो चलायमान हुने । त्यसैले दसैँअघि चलचित्र प्रदर्शन गर्दा राम्रो हुने उनको तर्क छ । तर, कसरी प्रदर्शन गर्ने त ? निर्माता अझै ढुक्क छैनन् ।

कोरोना फैलिने डरले दर्शक आइहाल्ने अवस्था पनि छैन । ‘दसैँलाई लक्षित गर्ने हो भने वेला भइसक्यो । अब लागिहाल्नुपर्छ । हटस्टरमा प्रदर्शन भएका चलचित्र किनेर चलाउँदा हुन्छ । पुरानै चलचित्र पुनः प्रदर्शन गर्दा पनि होला,’ मानन्धर भन्छन्, ‘तर, सानो बजेटका चलचित्र हलमा लगाएरचाहिँ दर्शक आउँदैनन् । बरु वितरक, निर्माता, प्रदर्शक सँगै बसेर छलफल गरेर ठूलै बजेटको चलचित्र पनि हलमा लगाउन सकिन्छ । निर्माताको न्यूनतम ग्यारेन्टीका लागि पनि छलफल गर्न सकिन्न ।’

दसैँमा सबैतिर चहलपहल हुने भएकाले र मान्छेहरू बाहिर गएकाले यस्तै वेला दर्शकलाई हलसम्म तान्ने वातावरण मिलाउँदा राम्रो हुने मानन्धरको आकलन छ । तर, दर्शक नआउलान् भनेर डराउनुपर्ने अवस्था नभएको उनी बताउँछन् ।

‘सबैलाई घरमा बस्दा-बस्दा दिक्क भएको छ । मान्छेलाई मनोरञ्जन पनि त चाहिन्छ नि । मलाई नै हलमा कहिले जाउँ लागिरहेको छ । त्यही भएर सुरक्षित तवरले दर्शकलाई चलचित्र देखाउन सकिन्छ,’ मानन्धर भन्छन्, ‘चलचित्र हेर्न ५० प्रतिशत दर्शक आए पनि राम्रो हो । तर, दर्शक आउँदैनन् नै भनेरचाहिँ नडराउँदा हुन्छ ।’ तर, अहिले नै हल सञ्चालन हुने कुरामा भने मानन्धर ढुक्क छैनन् । सरकारले स्वीकृति दिनुपर्ने भएकाले आफू ५० प्रतिशत मात्र आशावादी रहेको उनी बताउँछन् ।

दसैँमा हल सञ्चालन होला या नहोला, भएमा कसरी सञ्चालन गर्ने विषयभन्दा पहिला सरकारले हल सञ्चालन गर्ने अनुमति दिनुपर्ने बताउँछन् निर्माता तथा वितरक प्रदीप उदय । यदि सरकारले अनुमति दिएमा त्यसपछि सरसल्लाह गरेर चलचित्र प्रदर्शन गर्न सकिने उनको विश्लेषण छ । तर, कसरी प्रदर्शन गर्ने ? ठूलो बजेटको चलचित्रमा लगानी गरेका निर्माताहरू डराइरहेको अवस्था छ ।

ढुक्कका साथ आफ्नो चलचित्र प्रदर्शन गर्ने आँट गरिरहेका छैनन् । यो विषयलाई पनि सबै बसेर सल्लाह गरेर समाधान निकाल्नुबाहेक अरू विकल्प नरहेको उदयको मत छ । ‘त्यसबारे पनि छलफल गरौँला । तर, खुलिहाल्यो भने पनि दर्शक आइहाल्ने अवस्था नबन्न सक्छ । त्यसका लागि हामीले सल्लाह गरेर निणर्य लिनुपर्छ,’ बुटवलका हल सञ्चालकसमेत रहेका उदय भन्छन् ।

‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेन अहिले नयाँ चलचित्र ‘हुतुतु’ का लागि स्क्रिप्ट लेखिरहेका छन् । साथै, ‘प्रेमगीत ३’ कै पोस्ट प्रोडक्सनको काम पनि गरिरहेका छन् । प्राविधिकहरू बल्ल काठमाडौं फर्केले आफूहरूले अहिले तीव्र रूपमा काम गरिरहेको सेन बताउँछन् । तर, हल खुलाउने या नखुलाउने भन्ने विषयमा सरकारले निणर्य लिने भएकाले त्यसपछि मात्र आफूले केही सोच्ने उनको सोचाइ छ ।

यदि सिनेमा हल खुल्यो भने ‘प्रेमगीत ३’ रिलिज होला त ? सेन भन्छन्, ‘लकडाउन खुलेपछि सबैजना जीवनयापन अब कसरी गर्ने भनेर सोचिरहनुभएको छ । यस्तो परिवेशमा चलचित्र चलाउँदा पनि प्रमोसनका लागि समय पुग्दैन ।’

तर, आफूले हल र सरकारबाट राम्रो साथ पाएमा चाहिँ चलचित्र प्रदर्शन गर्ने सुरमा छन् सेन । आफूले चार करोडभन्दा बढी लगानी गरेकाले न्यूनतम ग्यारेन्टी पाएमा चलचित्र चलाउन सकिने उनी बताउँछन् ।

‘अहिले माहोलै राम्रो छैन । सरकारलाई पनि गाह्रो भएको देख्छु । कोभिडविरुद्धको भ्याक्सिन नबनेसम्म ढुक्क हुने अवस्थै छैन । चलचित्र खुल्छ भन्ने अवस्था पनि छैन,’ सेन भन्छन्, ‘दर्शकहरू चलचित्र हेर्न आउनुहुन्छ भन्ने पनि छैन । त्यही भएर नयाँ वर्षतिर चलचित्र प्रदर्शन गर्ने हो भन्ने सोचाइमा छु ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७