बेपत्ता बाबु खोज्दै जुम्ला आइपुगेका चार बालबालिकालाई सुर्खेत पठाइयो


१५ आश्विन २०७७, बिहीबार
1601373663 jumla 1200x560 1

जुम्ला, १५ असोज । जुम्लामा बेवारिसे अवस्थामा फेला परेका चार बालबालिकालाई पुनस्र्थापन गरिएको छ । स्थानीय प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समिति, सरोकारवालाको सहयोग तथा समन्वयमा पुनस्र्थापनाका लागि उनीहरूलाई सुर्खेत पठाइएको हो ।

अल्पकालीन आश्रयका लागि सेवा केन्द्र जुम्लामा तत्कालका लागि बसेका उनीहरुको पहिचान खुलेपछि बास र अध्ययनका लागि समन्वय भएपछि प्रहरीको साथमा सुर्खेत पठाइएको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

अल्पकालीन सेवा केन्द्रका अध्यक्ष भगवती श्रेष्ठका अनुसार उनीहरुले शुरुमा नाम ठेगाना पनि फरक दिएका थिए । अहिले वास्तविक ठेगाना पहिचान भएको छ । मधु भनिएकी सुनिता परियार र उनका बाबुको नाम अमर परियार खुलेको हो ।

तीन वर्षको बच्चा सुनिता परियारको भएको छोरा खुलेको छ । अर्का गीता भन्ने कविता परियार रहेको खुलेको छ । कविताको आमाको निधन भइसकेपछि कान्छी श्रीमती ल्याएका र शारीरिक तथा मानसिक हिंसामा परी कामको खोजीमा जुम्ला आएको खुलेको हो ।

उनीहरुलाई बेवारिसे अवस्थामा भेटिएपछि स्थानीय प्रशासन र प्रहरी, सेवा केन्द्रको सहयोगमा अल्पकालीन आश्रयका लागि सेवा केन्द्रमा राखिएको थियो । उनीहरुलाई जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, जिल्ला प्रहरी कार्यालय प्रमुख काफ्ले, चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईँ, आश्रय केन्द्रका अध्यक्ष श्रेष्ठसहितको टोलीले प्रहरीको साथमा सुर्खेत पठाएको हो ।

सुर्खेतमा कोपिला भ्याली र मानवसेवा आश्रममा तत्कालीन पुनस्र्थापनाका लागि पठाएको हो । यसैगरी चन्दननाथ नगरपालिकाको रु २० हजार आर्थिक सहयोगमा उनीहरुलाई जुम्लाबाट सुर्खेत पठाइएको निमित्त प्रशासकीय अधिकृत चौलागाईले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७