यात्रु बढेपछि भरतपुरमा दैनिक पाँच उडान


१५ आश्विन २०७७, बिहीबार
bharatpur airport

चितवन, १५ असोज । भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको संख्या बढ्न थालेपछि उडान हुने जहाजको संख्या पनि थपिएको छ ।

भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरले आजदेखि दुई एयरलायन्सले दैनिक छ उडानको तालिका बनाएको बताए । उनले भने, ‘बुद्ध र यति एयरलाइन्सले आजदेखि तीन-तीन उडान भर्ने तालिका बनाएका छन्, यात्रुको संख्या क्रमशः बढ्दो अवस्थामा छ ।’

यति एयरलायन्सले दुई मात्र उडान भर्ने जनाएको छ । भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान शुरु भएको थियो । शुरुमा दैनिक चार उडान भएको थियो । ‘यात्रुको चाप बढ्नु राम्रो सङ्केत हो’, कुँवरले भने, ‘अहिलेको स्थिति यथावत रहिरहे दशैँसम्म पुरानै अवस्थामा आन्तरिक उडान फर्कंने छ ।’

बुद्ध एयर भरतपुर स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले यात्रुको चाप बढेपछि बुधबारदेखि एउटा उडान थपिएको बताए । ‘जहाजमा यात्रुको संख्या भरिभराउ नै छ’, उनले भने, ‘कोभिडसम्बन्धी सबै सावधानी अपनाएर उडान भरिरहेका छौँ ।’ बुद्धको भरतपुर पोखरा उडान भने तत्काल सञ्चालनमा नआउने उनले जानकारी दिए ।

यती एयर भरतपुरका स्टेसन इञ्चार्ज अनुप ढकालले जहाज ३० सिट क्षमताको भए पनि स्वास्थ्य सुरक्षा मापदण्डको हिसाबले २० देखि २५ जना मात्रै उडाउने गरेको बताए । काठमाडौँबाट आउनेभन्दा पनि जाने यात्रुको संख्या बढिरहेको उनले बताए ।

‘उडान हामीले सोचेभन्दा राम्रो छ’, उनले भने, ‘पारिवारिक सदस्यलाई मात्र सँगै बस्न दिएका छौँ, अन्यलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गरेका छौँ ।’ छ महिनासम्म उडान नहुँदा चितवनको पर्यटन क्षेत्र बढी प्रभावित भएको छ । सामान्य अवस्थामा दैनिक १३ वटासम्म उडान हुने गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७