कोरोनाबाट पहिलोपल्ट चिकित्सकसहित थप ११ जनाको मृत्यु, मृत्तक संख्या ५०९ पुग्यो


१५ आश्विन २०७७, बिहीबार
korona death 2

काठमाडौं, १५ असोज । कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलोपल्ट डाक्टरको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा एक डाक्टरसहित थप ११ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ ।

६ वटा जिल्लाका एक महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुनसरीमा ५६, ५० र २७, काठमाडौंमा ७८ र ६८, भक्तपुरमा ६८, ललितपुरमा ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । बाँकेमा ३४ वर्षीया महिला, रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

२ साताअघि संक्रमण पुष्टि भएका उनलाई सास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा ल्याइएको थियो । बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा दिउँसो ३ बजेतिर मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिएका छन् । यसअघि बुधबार नेपालमा ७ जनाको मृत्यु भएको थियो । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ९४३ सहित देशभर थपिए १९ सय ११ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ८१७ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर बुधबार १९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा ९६१ जना निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको नमुना जाँचमा १९ सय ११ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२७ पुगेको छ । २४ घण्टामा ९११ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । देशभर ५ हजार ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७