अवकाशको २२ दिनअघि राजीनामाको बदला मुख्य सचिवलाई राजदूत पद उपहार

डा. युवराज खतिवडालाई दुई सातामा दुई नियुक्ति


१६ आश्विन २०७७, शुक्रबार
main

काठमाडौं, १६ असोज । सरकारले २५ औं मुख्यसचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गरेको छ । तर, बैरागीलाई नियुक्त गर्दा विधि मिचिएकाले यसले निजामती प्रशासनलाई थप कमजोर बनाउने जोखिम रहेको कर्मचारी तथा प्रशासनविद्हरूको चिन्ता छ ।

आफ्नो अनूकुलको मुख्य सचिव बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी प्रशासनको विधि-पद्धतिमै हस्तक्षेप गरेका छन् । बिहीबारको मन्त्रिपरिषद्को बैठकले रेग्मीको राजीनामा स्वीकृत भएको र राजदूतमा नियुक्त गरिएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

अवकाशको २२ दिनअघि मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाई बेलायतको राजदूत पद दिएर बैरागीलाई मुख्यसचिवमा नियुक्त गरिएको छ । प्रधानमन्त्री ओली आफु निकट रहेका बैरागीलाई मुख्यसचिव बनाउन रेग्मीलाई राजीनामा दिन लगाएका हुन् ।

उनलाई मुख्यसचिव बनाउनकै लागि रेग्मीलाई राजदूत पद दिएर फकाई राजीनामा दिन लगाइएको हो । यसले नियमित प्रक्रियाअनुसार मुख्यसचिवको दाबीमा रहेका सचिवहरूमाथि अन्याय भएको छ । उनले राजीनामा नदिंदा बैरागीले सचिवको पाँच वर्षे पदावधिका कारण २२ असोजमा अनिवार्य अवकाश पाउँथे ।

‘निजामतीको सर्वोच्च पदको नियुक्तिमै अस्वस्थ चलखेल भयो,’ एक उच्च प्रशासन भन्छन्, ‘एक त यसरी नियुक्त भएका मुख्यसचिवले राम्रोसँग काम गर्न सक्दैन, अर्कोतर्फ प्रशासनमा राजनीतिक चलखेल झन् बढाउने जोखिम भएको छ ।’

व्यक्तिगत स्वार्थका लागि प्रशासनमा गलत नजिर बसाउन सहयोग गरेकोमा यसको दोष रेग्मीमाथि समेत लागेको छ । यद्यपी मुख्यसचिव नियुक्त भएका बैरागी तुलनात्मक रुपमा राम्रा प्रशासक मानिन्छन् । परराष्ट्र सेवाको मात्र अनुभव भएकाले सिंगो निजामती प्रशासनको नेतृत्व हाक्न उनमा अनुभवको कमी हुनसक्ने कर्मचारीहरू बताउँछन् ।

पूर्व मुख्यसचिव डा. विमल कोइराला मुख्यसचिवको विधि गलत भएको र यसले निजामती प्रशासनमा नकारात्मक असर पार्न सक्ने बताए । ‘मुख्यसचिव नियुक्तिको बिधि ठिक भएन यद्यपी मुख्यसचिव नियुक्त गरिएका व्यक्ति ठिक छन्,’ उनले भने,‘विधि ठिक नहुँदा निजामती प्रशासनमा कर्मचारीको करिअर अनुमानयोग्य नहुने अवस्था आएको छ, यसले प्रशासन कमजोर बनाउने जोखिम छ ।’

त्यसो त रेग्मीले आफु मुख्यसचिव हुन पनि तीन वर्षअघि जालझेल गरेका थिए । तत्कालिन मुख्यसचिव सोमलाल सुवेदीलाई आफ्नो अनुकुल हुने गरी राजिनामा दिन लगाई राजेन्द्रकिशोर क्षेत्रीलाई तीन महिनाका लागि मुख्यसचिव बनाएर आफ्ना प्रतिस्पर्धीलाई पाखा लगाई मुख्यसचिव भएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई मुख्यसचिवमा नियुक्त गरेको थियो । प्रधानमन्त्री ओलीको ‘यसम्यान’ बनेकाले पनि अहिले उनले राजदूत पाएको पाउन सफल भएका छन् ।

मुख्य सचिवबाट ‘सहसचिव’ को हैसियतमा

निजामती प्रशासनको मुख्यसचिव पदबाट रेग्मी सहसचिव पदस्थापन हुने बेलायतको राजदूत पदमा नियुक्त भएका छन् । यसले मुख्यसचिव पदकै गरिमा घटाएको कर्मचारीहरू बताउँछन् । राजदूतले परराष्ट्रको सचिवलाई नियमित ब्रिफिङ गर्नुपर्छ, जसअनुसार रेग्मी अब आफू भन्दा तल्लो तहको कर्मचारीको मातहतमा बसेर काम गर्नेछन् ।

विगतमा पनि केही मुख्यसचिवले यस्तै पदलोलुपता देखाएका थिए । डा.सोमलाल सुवेदी मुख्यसचिवबाट राजिनामा दिएर एसियाली विकास बैंकमा जागिर खान गएका थिए । डा.भोजराज घिमिरे मुख्यसचिवबाट अवकाश पाएपछि क्यानाडाको राजदूत भएका थिए । अर्का पूर्व मुख्यसचिव लिलामणि पौडेल चीनका राजदूत भएका थिए, चीनको राजदूतलाई भने मन्त्री पद सरहको मान र सुविधा दिने निणर्य सरकारले गरेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७