प्रदेश-५ राजधानी विवाद : नेकपाका १४ सांसदको ‘नोट अफ डिसेन्ट’

आन्दोलनको ‘मोडालिटी’ तय गर्न रुपन्देही कांग्रेसको भेला


१७ आश्विन २०७७, शनिबार
Bhalubang 10 02 1

बुटवल, १७ असोज । प्रदेश-५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको निणर्यमा स्वयम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेताहरु असन्तुष्ट देखिएका छन् ।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्ष्पकमल दाहाल ‘प्रचण्ड’ को सहमतिमा प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव लगेको थियो ।
आज शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले विरोध गरेका छन् । १४ जना सांसदले उक्त निणर्यको विरोध गर्दै ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

बिहान ८ बजेदेखि झण्डै ८ घण्टा चलेको वैठकमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, कपिलवस्तुका विष्णु पन्थी, पाल्पाका युवराज खनाल लगायत १४ जनाले दाङ स्थायी राजधानी बनाउने सरकारको प्रस्ताव उपयुक्त नभएको भन्दै नोट अफ डिसेन्ट लेखेको सांसद डा.कृष्ण न्यौपानेले जानकारी दिएका छन् ।

‘दाङको भालुबाङलाई स्थायी राजधानी बनाउने कुरा उपयुक्त छैन भनेर लिखित नोट अफ डिसेन्ट लेखेर विरोध जनायौं’ डा. न्यौपानेले सुनाए ।

बैठकमा नेकपा प्रदेश-५ इञ्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई निर्देशन दिएको र पार्टीको निणर्य बाहिर नजान निर्देशन दिएको वैठकमा सहभागी एक सांसदले जानकारी दिएका छन् । सचेतक भूमिश्वर ढकालले भने सरकारले प्रदेशसभामा पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्ने निणर्य भएको बताएका छन् ।

बुटवलमा रुपन्देही कांग्रेसको भेला
प्रदेश-५ को राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको विरोधमा नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । रुपन्देही कांग्रेसले बुटवलमा भेला गरेर आन्दोलनको मोडालिटी तय गर्ने जनाएको छ । बुटवलको एक होटलमा कांग्रेसको बैठक अहिले चलिरहेको छ ।

राजधानी बुटवलबाट सार्न लागिएपछि रुपन्देहीका संघ संस्था र राजनीतिक दलले आन्दोलनको तयारी गरेका छन् । बुटवलमा बैठक गरेर कसरी आन्दोलन गर्ने भन्ने मोडल बनाइरहेको होटल व्यवसायी समुन्द्र जिसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७