चीनले नेपाली भूभागमै सामान ल्याई दिने


१८ आश्विन २०७७, आईतवार
Rasuwagadhi

रसुवा, १८ असोज । चीनले अब नेपाली भूभागमै सामान ल्याइदिने भएको छ । यसअघि रसुवागढी नाकाको मितेरी पुलको बीचमा सामान ल्याई झारिदिने गरेकोमा अब नेपाली भूभागमै ल्याइदिने भएको हो ।

अक्टोबर ४ अर्थात् आइतबारदेखि नेपाली भूभागमै सामान ल्याइदिने चिनियाँ पक्षले बताएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए । त्यसका लागि नेपाली पक्षले व्यवस्थापनको काम पूरा गरेको छ ।

रसुवागढी नाकाको सय मिटरमा रेखांकनको काम सम्पन्न भएको उनले बताए । रेखांकनको डिजाइन चीनले नै दिएको थियो ।

‘१० मिटर बराबर गाडी राख्ने ठाउँलाई एउटा रंगले रेखांकन गरिएको छ भने सामान झार्ने ठाउँमा अर्को रंगले रेखांकन गरिएको छ, त्यसैगरी चिनियाँ गाडी आएर बस्ने ठाउँमा अर्को रंगले रेखांकन गरिएको छ, नेपाली गाडी बस्ने ठाउँ अर्को रंगले रेखांकन गरिएको छ,’ खड्काले भने, ‘चिनियाँ गाडी आएर आफ्नै ठाउँमा बस्छ, नेपाली गाडीमा नेपाली कामदारले लोड गर्नेछन् ।’

मार्किङ गरिएको पहेलो रंगले घेरिएको ठाउँमा चिनियाँ गाडी राख्ने, निलो रंगले घेरिएको ठाउँमा चिनियाँ पक्षले सामान झारिदिने र बीचमा थोरै खाली ठाउँ रहनेछ । एकैपटक आएका चिनियाँ पाँचवटा गाडी राख्नलाई पाँचवटै गोलाकार बनाइएको छ । त्यसैगरी नेपाली सवारी राख्न छुट्टै बनाइएको छ ।

चिनियाँ पक्षले एकपटकमा ल्याएको पाँच गाडी सामान झारेर फर्किएपछि नेपाली कन्टेनर र कामदारले सामान लोड गर्नेछन् । सामान लोड गरिसकेपछि पुनः चिनियाँ पक्ष सोही स्थानमा आएर डिसइन्फेक्सन गर्छन् र पुनः चिनियाँ पाँचवटा सवारीमा सामान ल्याएर झार्छन् । चिनियाँ एउटा सवारीमा आएको सामान नेपाली दुईवटा सवारीमा राखिँदै आएको छ ।

भन्सार प्रमुख खड्काले भने, ‘चिनियाँ पक्षले सामान अनलोड गर्दा त्यो एरिया आइसोलेटेड हुन्छ, त्यहाँ नेपाली कोही हुँदैनन् । उनीहरू फर्किएपछि मात्र हाम्रोतर्फबाट सामान लोड हुन्छ, हाम्रो सामान लोड भइसकेपछि पुनः उनीहरूले डिसइन्फेक्सन गर्नेछन् ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७