विरोध प्रदर्शन रोक्न बुटवलका दर्जन बढी स्थानमा निषेधाज्ञा

चार दिन निषेधाज्ञा, पाँच जना भन्दा बढीको समूह हिंडडुलमा प्रतिबन्ध


१८ आश्विन २०७७, आईतवार
Pradesh 5 fePYCokem7

बुटवल, १८ असोज । प्रदेश-५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएपछि बुटवलमा आन्दोलन चर्किन थालेपछि स्थानीय प्रशासनले चार दिनका लागि निषेधाज्ञाको घोषणा गरेको छ ।

स्थानीय प्रशासनले आज बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्दै विरोध प्रदर्शनमा रोक लगाएको हो । हिजो जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना निकालेर आउँदो २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो ।

निषेधित क्षेत्रमा भीडभाड, सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्नरगराउन रोक लगाइएको छ । त्यस्तै, पाँच जनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भएर हिंडडुल गर्न पाइने छैन । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय, मन्त्री कार्यालयहरू तथा प्रदेश सभा भवन रहेका आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो ।

प्रदेशसभा भवन रहेको क्षेत्र दक्षिणमा इँटा भट्टीचोक, उत्तरमा कालीका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालीका मन्दिरदेखि इँट्टा भट्टीचोकसम्मको कालीका पथ क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै मन्त्रालय रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र निषेधाज्ञा लागू गरिएको सूचनामा उल्लेख छ । प्रदेश राजधानी दाङको भालुवाङ प्रस्ताव गरेको विरोधमा शुक्रबारदेखि बुटवलमा प्रदर्शन शुरु भएको हो ।

प्रशासनले निषेधित क्षेत्र तोकेपछि कांग्रेसले आह्वान गरेको रुपन्देही बन्द र रुपन्देहीका दुई दर्जन बढी व्यवसायिक संस्थाहरुको सञ्जालले राजधानी सार्ने प्रस्तावको विरोधमा आइतबार बिहान संयुक्तरुपमा आयोजना गरेको प्रदर्शन प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७