उत्तरी नाकाबाट एक वर्षदेखि रोकियो निर्यात

अड्किएका सामग्री छुट्न थाले, तर नाका दुईतर्फी चलाउन चीन अझै तयार भएन


१९ आश्विन २०७७, सोमबार
kerung naka

काठमाडौं, १९ असोज । चीनले झन्डै एक वर्षदेखि नेपालबाट स्थलमार्गमार्फत हुने निर्यात रोकेको छ । कोभिड-१९ लाई कारण देखाउँदै चीनले एकतर्फी नाका मात्रै सञ्चालन गर्दा उत्तरी नाकाबाट हुने नेपालको निर्यात ठप्प भएको हो ।

तातोपानी नाकाबाट अघिल्लो कात्तिकदेखि र रसुवा नाकाबाट माघदेखि निर्यात भएको छैन । आयात पनि आंशिक मात्रै हुँदै आएको छ । अघिल्लो आर्थिक वर्षको माघसम्ममा रसुवा नाका हुँदै नेपालले ५८ करोड २३ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । त्यसयता रसुवाबाट हुने निर्यात शून्य छ ।

त्यस्तै, गत आवको कात्तिकसम्ममा तातोपानी नाकाबाट नेपालले १३ करोड ७६ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । त्यसपछि तातोपानी नाकाबाट समेत निर्यात शून्य रहेको भन्सार विभागको तथ्यांक छ ।

कोभिड-१९ महामारी सुरु भएयता रसुवा र तातोपानी नाकाबाट हुने निर्यात रोकिएको रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बताए ।

‘लकडाउन सुरु हुनुअघिदेखि नै नेपाल-चीनबीचको व्यापार सुस्त भएको थियो, लकडाउनपछि आयात-निर्यात नै रोकियो,’ उनले भने, ‘लकडाउनकै बीच नाका खोल्ने त भनियो, तर एकतर्फी मात्रै, खासगरी पारि अड्किएका नेपाली व्यवसायीका सामान छोड्न मात्रै नाका खोलिएको चिनियाँ पक्षको आशय छ ।’ नाका दुईतर्फी सञ्चालनका लागि नेपालले बारम्बार आग्रह गरे पनि कोरोना संक्रमणको जोखिम देखाउँदै चीनले अस्वीकार गर्दै आएको उनले बताए ।

झन्डै वर्ष दिनदेखि नै चिनियाँ नाकाबाट हुने निर्यात ठप्प रहेको हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले बताए । व्यवसायीहरूले नाका दुईतर्फी सञ्चालन हुनुपर्ने, निर्यात पनि खुला गरिनुपर्ने माग राखे पनि पूरा नभएको उनले बताए ।

चालू आर्थिक वर्ष सुरु भएपछि नाका दुईतर्फी रूपमा सञ्चालन हुने र निर्यात पुनः सुरु हुने नेपाली व्यवसायीको अपेक्षा थियो । तर, चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्ममा चिनियाँ नाकाबाट हुने निर्यात शून्य नै छ ।

जबकि, यो दुई महिनामा चिनियाँ नाका हुँदै नेपालमा १ अर्ब ५८ करोड ९ लाख रुपैयाँ बराबरको सामग्री भित्रिएको विभागको तथ्यांक छ । यसमध्ये तातोपानी नाका हुँदै १९ करोड १२ लाख रुपैयाँबराबरको र केरुङ नाकाबाट १ अर्ब ३८ करोड ९७ लाख रुपैयाँबराबरको सामग्री आयात भएको हो ।

तर, अन्य मार्गबाट हुने निर्यात भने निरन्तर
सीमानाकाबाट हुने निर्यातलाई रोकेको भए पनि सामुद्रिक तथा हवाईमार्गबाट हुने निर्यात भने निरन्तर छ । यो दुई महिनामा नेपालले १३ करोड ९ लाख रुपैयाँ बराबरको सामग्री चीन निर्यात गरेको हो ।

त्यस्तै, दुई महिनामा चीनबाट कुल २४ अर्ब ३१ करोड ३६ लाख रुपैयाँ बराबरको सामग्री आयात भएको छ । यस अवधिमा नेपालले चीनसँगको व्यापारमा २ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।

चिनियाँ नाकाबाट हुने व्यापारको हिस्सा कति छ ?
कुल निर्यातमा चिनियाँ नाकाको हिस्सा ०.७४ प्रतिशत र कुल आयातमा चिनियाँ नाकाबाट हुने हिस्सा ३.०१ प्रतिशत रहेको भन्सार विभागको तथ्यांक छ ।

आर्थिक वर्ष ०७६-७६ मा नेपालले चीनबाट कुल १ खर्ब ८१ अर्ब ९२ करोड रुपैयाँ बराबरको सामग्री आयात गर्दा १ अर्ब १९ करोड ११ लाख रुपैयाँबराबरको निर्यात गरेको छ । यस अवधिमा नेपालले कुल १ खर्ब ८० करोड ७२ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ ।

उक्त आवमा चिनियाँ नाका हुँदै नेपालमा ३६ अर्ब १८ करोड ५७ लाख रुपैयाँबराबरको सामग्री भित्रिएको छ । यसमध्ये रसुवा नाकाबाट कुल २६ अर्ब ६४ करोड ८१ लाख रुपैयाँबराबरको सामग्री आयात भएको हो ।

त्यस्तै, तातोपानी नाकाबाट ९ अर्ब ५३ करोड ७६ लाख रुपैयाँ आयात भएको थियो । समीक्षा आवमा नेपालले चिनियाँ नाका हुँदै कुल ७१ करोड ९९ लाख रुपैयाँबराबरको निर्यात गरेको थियो । यसमध्ये केरुङ नाकाबाट ५८ करोड २३ लाख रुपैयाँबराबरको र तातोपानी नाकाबाट १३ करोड ७६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

सामान आउन थाले
झन्डै एक वर्षदेखि केरुङ र ल्हासामा अड्किएका नेपाली व्यवसायीका सामग्री आउन थालेका छन् । आइतबारदेखि रसुवा नाकाबाट दैनिक १० कन्टेनरजति सामग्री नेपाल भित्रिएको भन्सार प्रमुख खड्काले जानकारी दिए ।

उनले भने, ‘आइतबार नै १० कन्टेनरजति सामग्री लोड भयो, अड्किएका सामग्री क्रमशः आउने छन् ।’ रसुवा र तातोपानी नाका आंशिक रूपमा मात्रै सञ्चालन गरिँदा नेपाली व्यवसायीले मगाएको करिब १५ सय कन्टेनर बराबरका सामग्री चीनमै अड्किएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७