प्रादेशिक संसदमा पनि तमासा सुरु

कांग्रेस सांसदद्वारा प्रदेश ५ को संसदमा तोडफोड, सांसदहरूलाई घिसारेर बाहिर निकाल्न मर्यादापालकलाई मन्त्रीको निर्देशन


२० आश्विन २०७७, मंगलवार
3.jpg .2020 10 06

बुटवल, २० असोज । केन्द्रीय संसद्मा वेलावेलामा देखिने तमासा प्रदेश सभामा पनि सुरु भएको छ । प्रदेश ५ को स्थायी राजधानी र नामकरणका विषयलाई लिएर विपक्षी दल कांग्रेसले सदनमा कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ ।

त्यस्तै, प्रदेशका कानुनमन्त्री आफैँ अघि सरेर प्रतिपक्षी सांसदलाई घिसारेर बाहिर लान मर्यादापालकलाई निर्देशन दिएका छन् ।

‘दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानी’ र ‘शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्वलाई हृदयंगम गर्दै साझा चिनारीका रूपमा प्रदेशको नाम लुम्बिनी प्रदेश’ राख्ने प्रस्ताव छलफलका लागि अगाडि बढाउने क्रममा कांग्रेसले हंगामा मच्चाएको हो । तर, शुक्रबार प्रस्ताव पेस भएपछि सोमबार बसेको पहिलो बैठकमा संसदीय पद्धति मिचेर प्रस्ताव ल्याइएको भन्दै कांग्रेसले विरोध जनाएको थियो ।

बैठक सुरु भएलगत्तै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले राजनीतिक सहमति र छलफल नगरी सरकारले सदनमा प्रस्ताव ल्याएको भन्दै विरोध जनाए । राजधानीको विषय गम्भीर र ऐतिहासिक भएकाले सहमति नभई अगाडि बढाउनु संसदीय मूल्य र मान्यताविपरीत भएको उनको भनाइ थियो । प्रस्ताव पेस भएकै दिन कांग्रेसले असहमति जनाएको थियो ।

उनी बोलेलगत्तै कांग्रेस सांसदले ‘संसदीय मर्यादा कायम गर, गिरफ्तारीमा परेकालाई रिहा गर, विशेष समितिको प्रतिवेदन सार्वजनिक गर तथा राजधानीका लागि गरिएको प्रस्ताव फिर्ता गर’लगायतका नारा लगाएका थिए । तर, कांग्रेस सांसदको होहल्ला र विरोधबीच सभामुख पूणर्बहादुर घर्तीले छलफल अघि बढाएपछि आक्रोशित कांग्रेसका प्रदेश सभा सदस्य तोडफोडमा उत्रिएका थिए ।

सभामुखले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई छलफलका लागि प्रस्ताव पेस गर्न अनुमति दिएपछि कांग्रेसका सांसदले उनलाई रोस्ट्रममा जान अवरोध गरेका थिए । उनीहरू सभामुखलाई घेरा गर्न रोस्ट्रममा आउन लाग्दा मर्यादापालकसँग घम्साघम्सी परेको थियो ।

मर्यादापालकको बलमा उनी रोस्ट्रममा पुगेर प्रस्ताव पेस गर्न थालेपछि कांग्रेसका सांसद कुर्सी तोडफोडमा उत्रिएका थिए । तर, सभामा तोडफोड जारी रहँदा मुख्यमन्त्री शंकर पोखरेल बैठकबाट बाहिरिएका थिए । सभामुखले कुर्सी तोडफोडबीच पनि बैठक जारी राखेका थिए ।

छलफल समाप्त भएपछि छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका मन्त्री केसीले मर्यादापालकहरूलाई नाराबाजीमा उत्रिएका सांसदहरूलाई घिसारेर बाहिर निकाल्न निर्देशन दिएका थिए । उनले सो निर्देशनपछि संसदीय मर्यादाका कुरा गरेका थिए ।

सुरुमा सहमति बनाउने कोसिसबीच अपराह्न १ बजे सुरु भएको बैठक २ बजेसम्म सारिएको थियो । तर, सहमति नभएपछि ३ बजे पुनः बैठक सुरु भएको थियो । बैठकमा सत्तापक्षका सांसदले समेत खुलेर बोल्न नपाएको गुानासो गरेका थिए । एकातिर सभामुखले समय कम दिनु र अर्कोतर्फ विपक्षी सांसद नाराबाजी र तोडफोडमा उत्रिएपछि संसद् बैठकको माहौल नै बिग्रिएको थियो ।

बैठकमा सत्तापक्षका सांसद भोजप्रसाद श्रेष्ठले महत्वपूणर् विषयमा बोल्ने समय पाउनुपर्ने र राजधानीको विषयमा पुनर्विचार गर्नुपर्ने बताए । तर, उनले आफ्ना कुरा पूरा राख्न समय पाएनन् । उनी बोल्दै गर्दा सभामुखले सांसद विष्णु पन्थीलाई समय दिएका थिए । पन्थीले कपिलवस्तुमा राजधानी तोक्न आग्रह गरेका थिए ।

समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादवले पनि प्रदेश राजधानी कपिलवस्तु नै उपयुक्त भएको बताएका थिए । बैठकमा सत्तापक्षका अन्य सांसदले पनि बोल्ने इच्छा राखेका थिए, तर उनीहरूले समय पाएनन् ।

बैठकमा मन्त्री केसीले यसअघि राजधानी तथा नामकरण सुझाब समितिले बुझाएको प्रतिवेदन सभामुखलाई हस्तान्तरण गरेका थिए । सभामुखले यस विषयमा छलफल समाप्त भएको बताएका थिए । सभामुखले संशोधनका लागि १८ घन्टाको समयावधि दिएका छन् ।

उता प्रस्तावको विरोधमा रुपन्देहीमा सडकदेखि सदनसम्म आन्दोलन चर्किएको छ । प्रस्तावविरुद्ध सडक र सदनमा कांग्रेसले आन्दोलन चर्काएको छ । प्रदेश सभामा प्रदेश राजधानीको प्रस्तावविरुद्धको आन्दोलनमा जनता समाजवादी पार्टीले समेत कांग्रेसलाई साथ दिएको छ । सत्तापक्षकै कतिपय सांसद पनि प्रदेश राजधानी रुपन्देही नै हुनुपर्छ भन्ने पक्षमा छन् जसले आन्दोलनका लागि थप बल पुगेको छ ।

रुपन्देहीका व्यावसायिक संघसंस्थाको संस्था (सञ्जाल) रुपन्देहीले मंगलबार पनि प्रदेश सभा घेराउ गर्ने निणर्य गरेको छ । प्रदेशको राजधानी बुटवलबाट अन्यत्र सार्न लागिएकोमा त्यसको विरोधमा उत्रिएको सञ्जालको सोमबार साँझ बसेको बैठकले उक्त विरोधको कार्यक्रममा सहभागी हुनसमेत आमउद्योगी व्यवसायीलाई अपिल गरेको छ ।

मंगलबार पारित गर्ने नेकपाको तयारी

प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी उपत्यका राख्ने र नाम लुम्बिनी राख्ने गरी अगाडि बढाएको प्रस्ताव मंगलबारको बैठकबाट पास गर्ने नेकपाको तयारी छ । बैठक मंगलबार मध्याह्न १२ बजेलाई आह्वान गरिएको छ ।

नेकपा प्रदेश ५ को संसदीय दलले सरकारले ल्याएको राजधानी र नामकरणसम्बन्धी प्रस्ताव पास गराउन प्रदेश सभाका सदस्यलाई निर्देशन दिएको छ । सोमबार बसेको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको प्रदेश इन्चार्जको हैसियतले प्रदेश सभाका सदस्यलाई सरकारले ल्याएको प्रस्ताव पास गराउनका लागि लाग्न निर्देशन दिएका छन् ।

प्रस्ताव पारित हुनका लागि प्रदेश सभामा रहेका ८७ सदस्यमध्ये ५८ जनाको पक्षमा मत चाहिन्छ । संविधानमा प्रदेश सभाका कुल सदस्यको दुई तिहाइ मतले प्रदेश राजधानी तोक्ने र नामकरण गर्न सक्ने व्यवस्था छ ।

६१ सदस्य रहेको नेकपा संसदीय दलका सबै सदस्यले सरकारको प्रस्तावमा मतदान गरेमा राजधानी दाङ सर्ने पक्का हुनेछ । प्रदेश सभामा कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् । तर, नेकपाका १४ सांसदले संसदीय दलको बैठकमा नोट अफ डिसेन्ट लेखेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७