प्रदेश-५ को प्रदेशसभा बैठक शुरु, आज नाम र राजधानीको टुङ्गो

नाम र राजधानीका विषयमा तीन सांसदको संशोधन प्रस्ताव


२० आश्विन २०७७, मंगलवार
pradesh sachibalaya

बुटवल, २० असाेज । विवाद र तोडफोडका बीच प्रदेश-५ को प्रदेशसभा बैठक शुरु भएको छ । बैठकले आज (मंगलबार) प्रदेशको नाम र राजधानीको अन्तिम टुङ्गो लगाउने बताइएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीले गत शुक्रबार प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुबाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेस गरेका थिए । मन्त्री केसीले सोमबार उक्त प्रस्ताव छलफलका लागि निणर्यार्थ प्रदेशसभा पेस गरेका थिए ।

प्रदेशसभामा पेस भएको नाम र राजधानीको प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलले र विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलले आ-आफ्ना सांसदहरुका लागि ह्वीप जारी गरेको छ ।

प्रदेशका कूल ८७ सांसदमध्ये ६१ जना सत्तारुढ नेकपाका छन् । यस्तै कांग्रेसका १९ सांसद छन् । जसमध्ये केहीले पार्टीले लगाएको ह्वीप नमान्ने घोषणा गरेका छन् ।

नाम र राजधानीका विषयमा तीन सांसदको संशोधन प्रस्ताव
प्रदेश-५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी प्रदेश राख्ने प्रदेश सरकारको प्रस्तावमा तीन जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

नेपाली कांग्रेस सांसद रमा अर्याल र पुष्पा थरुनी तथा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सहषराम यादवले प्रदेश सभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

यादवले सरकारले प्रस्ताव गरेको लुम्बिनी प्रदेश नाम सच्याई थरुहट, मगरात र अवध नाम राखियोस् भन्ने संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिए । उनीहरुले राजधानीका विषयमा भने संशोधन प्रस्ताव हालेका छैनन् ।

यस्तै, नेपाली कांग्रेसका सांसद अर्याल र थरुनीले बैकल्पिक राजधानी तोकियोस् भनेर दाङ राजधानी बनाउन नहुने प्रस्ताव पेस गरेका छन् । उनीहरुले पाल्पा, नवलपरासी, रुपन्देही र कपिलवस्तु क्षेत्रलाई जोडेर राजधानी बनाउनुपर्ने प्रस्ताव सचिवालयमा दर्ता गराएको अधिकारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७