भालुबाङले प्रदेशको साझा मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ : मुख्यमन्त्री पोखरेल

‘प्रदेशको केन्द्र भालुबाङ तोकिए पनि बुटवलले विकासमा चिन्ता गर्न पर्दैन’


२० आश्विन २०७७, मंगलवार
shankar

बुटवल, २० असोज । प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तावित राजधानी भालुबाङले प्रदेशको साझा मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने बताएका छन् ।

प्रदेशसभामा प्रदेश राजधानीबारेमा धारणा राख्दै उनले थारु, मगर र मधेसी समुदायको भावनालाई भालुबाङले जोड्ने दावी गरे । अर्घाखाँचीको शीतगंगा गाउँपालिकाको केही क्षेत्र समेत केन्द्रमा समेटिएको भन्दै उनले कुनै राजनीतिक आग्रह राखेर प्रदेश केन्द्र नतोकेको बताएका छन् ।

प्रदेश सरकार एउटा क्षेत्रको विकासमा मात्र केन्द्रित रहन नसक्ने भन्दै उनले प्रदेशको साझा मनोविज्ञानको प्रतिनिधित्व गर्ने गरी प्रदेश केन्द्र तोकिएको बताए । भालुबाङ प्रदेशको एकल नदी सभ्यता भएको ठाउँ राप्ती नदीको छेउमा प्रदेश राजधानीको परिकल्पना गरेको र सो नदीले दुई वटा आञ्चलिक मनोविज्ञानलाई जोड्ने पनि बताए ।

बुटवललाई औद्योगिक केन्द्र, लुम्बिनीलाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रतिबद्धता पनि उनले जनाए । प्रदेशको केन्द्र भालुबाङ तोकिए पनि विकासमा चिन्ता नगर्न बुटवलवासीलाई आग्रह गरे । त्यस्तै, उनले हिजो प्रदेशसभामा भएको घटनाले प्रदेशसभामा आफूहरुले स्थापित गरेको राजनीतिक संस्कारबाट विचलित हुन पुगेको बताए ।

कुनै क्षेत्र विशेषमा केन्द्रित भएर प्रदेशको समृद्धिको कल्पना गर्न नसकिने भन्दै मुख्यमन्त्री पोखेरेलले प्रदेशका १२ जिल्लाकै समृद्धिको परिकल्पना प्रदेश सरकारले गरेको स्पष्ट पारे । विशेष समितिले प्रतिवेदन बुझाउँदा प्रदेश सरकारले प्रदेश केन्द्रबारे उपयुक्त निकास निकालोस् भनेर सुझाव दिइएको भन्दै उनले समितिको सुझाव विपरीत केन्द्र तोकिएको भन्ने कुरामा सत्यता नभएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७