सरकारबाट वार्षिक २० करोड अनुदान लिने काठमाडौं विश्वविद्यालयले एमबिबिएसमा जम्मा एक छात्रवृत्ति दिन्छ


२४ आश्विन २०७७, शनिबार
ku

काठमाडौं, २४ असोज । चिकित्सा शिक्षा ऐनमा सार्वजनिक शैक्षिक संस्थाले एमबिबिएसलगायतका स्नातक तहका कार्यक्रममा कम्तिमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ ।

त्यस्तै, निजी शैक्षिक संस्थाले कम्तिमा १० प्रतिशत छात्रवृत्ति दिनुपर्छ । तर, हरेक वर्ष सरकारबाट अनुदान पाउने काठमाडौं विश्वविद्यालय (केयू) ले सार्वजनिक त परै जाओस् निजी मेडिकल कलेजबराबर पनि छात्रवृत्ति दिएको छैन । जब कि विद्यार्थीबाट भने निजी मेडिकल कलेजसरह शुल्क असुलिरहेको छ ।

गत वर्ष मात्रै एमबिबिएसका लागि केयूले ८५ विद्यार्थीको कोटा पाएको थियो । तर, एकजनालाई मात्रै दियो । धुलिखेलमा केन्द्रीय कार्यालय स्थापना गर्न पनि केयूलाई सरकारले नै जग्गा उपलब्ध गराएको हो । त्यस्तै, वार्षिक करोडौँ अनुदान पनि उपलब्ध गराउँदै आएको छ ।

यति हुँदा पनि ऐनअनुसार विद्यार्थीले छात्रवृत्ति भने पाइरहेका छैनन् । सरकारले पनि चिकित्सा शिक्षा ऐन कार्यान्वयन गराउन चासो दिएको छैन । शिक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार केयूले कुनै वर्ष नर्सिङ र एमडीमा एक–एकजनालाई पनि छात्रवृत्ति दिने गरेको छ ।

डा. गोविन्द केसीसँगको सहमतिअनुसार सरकारले गत वर्षदेखि चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा ल्याएको हो । तर, सरकारको प्रत्यक्ष लगानी भएका संस्थामा मात्र छात्रवृत्तिको व्यवस्था कार्यान्वयनमा आएको छ ।

ऐनअनुसार सार्वजनिक शिक्षण संस्थाहरूले ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने हो । ऐनको दफा १७ को उपदफा ७ मा भनिएको छ, ‘सार्वजनिक शिक्षण संस्थाले स्नातक तहको कार्यक्रममा उपलब्ध सिट संख्याको कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका लागि व्यवस्था गर्नुपर्नेछ र आयोगको परामर्शमा त्यस्तो सिट क्रमशः वृद्धि गर्दै लैजान सकिनेछ ।’

ऐनको व्यवस्थाअनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, आर्मी मेडिकल कलेज, धुलिखेल अस्पताल, विराट मेडिकल कलेज, देवदह मेडिकल कलेजलगायतले कम्तीमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने हुन्छ । कलेजहरूलाई छात्रवृत्तिबराबरको रकम सरकारले उपलब्ध गराउनुपर्ने व्यवस्था छ । तर, सरकारले पनि रकम उपलब्ध गराएको छैन ।

ऐनले सार्वजनिक संस्था भनेको पनि परिभाषित गरेको छ । ‘सार्वजनिक शिक्षण संस्था भन्नाले सरकारी, सामुदायिक वा सार्वजनिक सम्पत्तिको प्रयोग गरी स्थापना भएका सरकारी, सार्वजनिक गुठी वा अन्य शिक्षण संस्था सम्झनुपर्दछ,’ ऐनको दफा २ ‘प’मा भनिएको छ ।

अधिकांश सार्वजनिक कलेजले ऐन कार्यान्वयन नगरेपछि दश महिनाअघि विश्वविद्यालय, विभिन्न मेडिकल कलेज, राष्ट्रिय चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयलाई विपक्षी बनाएर विद्यार्थी मोहम्मद नसिरले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । जसको अझै टुंगो लागेको छैन ।

नसिरले आर्मी मेडिकल कलेज, काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेस, काठमाडौं विश्वविद्यालयका विस्तारित कार्यक्रम देवदह र विराट मेडिकल कलेज, त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान, राष्ट्रिय चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । चिकित्सा शिक्षा आयोगका प्रवक्ता तथा सदस्यसचिव डिल्लीराम लुइँटेलले अदालतमा परेको रिटको फैसलाबारे आफूलाई जानकारी नभएको बताए ।

केयूको आफ्नै तथा विस्तारित कार्यक्रमअन्तर्गत सेनाले चलाएको मेडिकल कलेजमा समेत चिकित्सा शिक्षामा निजी कलेजसरह शुल्क उठाउने गरिएको छ ।

चिकित्सा शिक्षा आयोगका सदस्यसचिव डिल्लीराम लुइँटेलले आगामी शैक्षिक सत्रदेखि केयूमा कम्तीमा १० प्रतिशत विद्यार्थी निःशुल्क छात्रवृत्तिमा पढ्न पठाउने बताए । आयोगले सिट निर्धारण, शुल्क निर्धारण गर्ने भएकाले ऐन कार्यान्वयन गर्ने बताए । नयाँ पत्रिका दैनिकबाट

ऐनमा व्यवस्था भएको ७५ प्रतिशत छात्रवृत्ति चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा नर्सिङ, दाङको आयुर्वेद, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस, वीरगन्ज नर्सिङ, विराटनगर नर्सिङ र बेलझुन्डीस्थित आयुर्वेद क्याम्पसले मात्र दिइरहेका छन् । सरकारले एमबिबिएस, बिडिएस, नर्सिङ, आयुर्वेदलगायत कार्यक्रम पढाइ हुने शैक्षिक संस्थालाई मात्र छात्रवृत्तिको रकम दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७