विश्वकप छनौट २०२२ : मेसीको गोलमा अर्जेन्टिनाको जीत


२४ आश्विन २०७७, शनिबार
messi

काठमाडौं, २४ असोज । अर्जेन्टिनाले २०२२ को कतार विश्वकप फुटबलअन्तर्गत दक्षिण अमेरिकी छनोटमा जितका साथ अभियान थालेको छ । बिहीबार अर्जेन्टिनाको राजधानीमा सम्पन्न छनोट खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि १–० को जित दर्ता गर्‍यो ।

अर्जेन्टिनालाई जित दिलाउँदा कप्तान लियोनल मेसीले एक मात्र पेनाल्टी गोल गरेका थिए । अर्जेन्टिनी फुटबल संघले छनोट खेलमा सीमित दर्शकलाई अनुमति दिएको थियो । बोम्बोनेरा रंगशाला लगभग खाली भए पनि थोरै दर्शकले अर्जेन्टिनाका कप्तान मेसीलाई हौसला बढाएका थिए ।

९० मिनेटसम्म समर्थकले ‘मेसी–मेसी’ भनी समर्थन गरिरहे । खेलको १२औँ मिनेटमा इक्वेडरका लुकास ओकाम्पोसले डि–बक्सभित्र फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो । मेसीले कुनै गल्ती नगरी अर्जेन्टिनालाई १–० को अग्रता दिलाए ।

विश्वकप छनोटमा अर्जेन्टिनाले पछिल्लो आठ खेलमध्ये एक खेलमा मात्र गुमाएको छ । यद्यपि झिनो एक गोलको अन्तरमा विजयी भए पनि अर्जेन्टिनी खेलाडीले इक्वेडरको पोस्टमा थप गोल गर्न सकेनन् ।

खेलको कुनै पनि समयमा बराबरी वा पराजित हुन सक्ने अवस्थामा अर्जेन्टिना नपुगेको होइन । कप्तान मेसीले छनोट खेलमा जितका साथ अभियान निकाल्नु पहिलो योजना रहेको बताए । ‘यो खेल हाम्रो नजरमा महत्वपूर्ण थियो, किनभने हामी जितका साथ विश्वकप अभियान अगाडि बढाउन चाहन्थ्यौँ,’ मेसीले भने, ‘हामी सबैलाई थाहा छ, विश्वकप छनोट कति गाह्रो छ, यो खेल कठिन जित निकालेको भन्नुपर्छ ।’

कोरोना भाइरस महामारीका रूपमा नफैलिएको भए दक्षिण अमेरिकाको विश्वकप छनोट पूर्वनिर्धारित समयअनुसार मार्च महिनामै छनोट हुनुपर्ने थियो । यद्यपि दक्षिण अमेरिकामा कोभिड–१९ को महामारी नै चलिरहेको छ । छिमेकी राष्ट्र ब्राजिलमा प्रतिदिन संक्रमित संख्या बढिरहेको छ । अर्जेन्टिनाले कोभिड–१९ तुलनात्मक रूपमा नियन्त्रण आएको जनाउँदै विश्वकप छनोटको तयारी गरेको हो ।

मेसीले अन्तर्राष्ट्रियमा फर्कंदा खुसी लागेको बताए । उनले खेलको स्तर उस्कान नसकेको स्वीकार गरेका छन् । भन्छन्, ‘अझै पनि म खेलको स्तरबाट खुसी छैन, यो फरक प्रतियोगिता हो, जहाँ एक गल्तीमा विश्वकप खेल्ने सपना तुहिन सक्छ ।’ अर्जेन्टिनी राष्ट्रिय टोली लगभग एक वर्षपछि अन्तर्राष्ट्रिय खेलमा फर्किएको हो । लामो समयको ग्यापले खेलाडीहरूबीच आपसी तालमेल नमिलेको उनले बताए ।

‘एक वर्षपछि हामी प्रतिस्पर्धामा उत्रिँदा केही नमिलेको जस्तो महसुस भएको छ, यसले पनि केही खेलाडीमा आत्तिएको पाएँ,’ उनले भने, ‘आउने खेलमा व्यापक सुधार हुने अपेक्षा छ ।’

अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिका उपाधि जितेयता कुनै पनि ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जितेको छैन । अर्जेन्टिनाले अन्तिमपटक विश्वकप सन् १९८६ मा जितेको थियो । मेसीको कप्तानीमा अर्जेन्टिनाले सन् २०१४ को विश्वकप फाइनल खेलेको थियो ।

जहाँ अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो । मेसीले राउन्ड रोविन लिगमा तीन अंक महत्वपूर्ण रहेको जनाए । ‘सुरुवात कठिन भयो, तर हामीले तीन अंक बटुल्न सफल भयौँ,’ उनले भने । प्रशिक्षक लियोनल स्कोलारीको प्रशिक्षणमा अर्जेन्टिनाले लगातार आठ खेलमा जित निकालेको छ ।

स्कोलारीको यो नै पहिलो विश्वकप छनोट खेल अनुभव हो । प्रशिक्षक स्कोलारीले मेसीसँगको सम्बन्ध राम्रो भएको बताएका छन् । विश्वकप छनोटअघि पनि मेसीसँग टोली र खेलाडीबारेमा गम्भीर छलफल भएको जनाए ।

स्कोलारी भन्छन्, ‘मेसीको टोलीसँग आबद्धता जनाएपछि लामो कुराकानी भयो, उनी अर्जेन्टिनामा खुसी छन् ।’ बार्सिलोना क्लबमा पनि सम्बन्ध राम्रो भएकाले नै मेसीको प्रदर्शन नखस्केको प्रशिक्षक स्कोलारीको भनाइ छ ।

‘अहिले मेसीले सामना गरेका सबै समस्या समाधान भएको अर्जेन्टिना र बार्सिलोनामा अब केही समस्या छैन,’ उनले भने, ‘हाम्रो प्रयास भनेको मेसीको व्यक्तिगत जीवनमा हस्तक्षेप नगर्ने हो, तर समस्या आउँदा सबैले सहयोग गर्नुपर्ने भावना राख्नुपर्छ ।’

अर्जेन्टिनाले अब बोलिभियासँग ला पाजमा प्रतिस्पर्धा गर्नेछ । इक्वेडरले उरुग्वेविरुद्ध खेल्नेछ । दक्षिण अमेरिकी छनोटमा उरुग्वेले चिलीलाई २–१ ले हराएको छ । दक्षिण अमेरिकामा शीर्ष चार राष्ट्र सीधै विश्वकपमा छनोट हुने प्रावधान छ । पाँचौँ स्थानमा रहने टोली प्ले अफको माध्यमबाट विश्वकपमा छनोट हुन सक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७