चामलका लागि चार दिन हिंडेर सदरमुकाम

जनप्रतिनिधि भन्छन्, ‘तत्काल खाद्यान्न आपूर्ति नगरे भोकै मर्ने अवस्था आउँछ’


२५ आश्विन २०७७, आईतवार
humla

हुम्ला, २५ असोज । कोरोना भाइरसका कारण चीनसँगका सीमानाका बन्द भएपछि हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दा मर्कामा परेका छन् । उनीहरू चामलको माग गर्दै लिमीबाट चार दिन हिँडेर हुम्ला सदरमुकाम सिमकोट पुगेका छन् ।

खाद्यान्न संकट भएपछि नाम्खा– ६ का वडाध्यक्ष पाल्जोर तामाङको नेतृत्वमा वडासदस्यहरू कोजुम आवेजाङ तामाङ र मिग्युर लामासहित तीन गाउँका स्थानीय बासिन्दा सिमकोट पुगेका हुन् । चार दिन हिँडेर ११ जनाको टोली सदरमुकाम आएको वडाध्यक्ष तामाङले बताए ।

स्थानीय बासिन्दासहित बुधबार सिमकोट पुगेका वडाध्यक्ष तामाङले भने, ‘गाउँमा खाद्यान्न छैन । चीनको नाका बन्द भएकाले ल्याउन पाएका छैनौं । भोकै बस्नुपर्ने अवस्था आएपछि चार दिन हिंडेर सदरमुकाम पुगेका हौं ।’

लिमी उपत्यकामा चीनको तिब्बतबाट दैनिक उपभोग्य सामानको आपूर्ति हुने गरेको छ । तर, यसपटक कोरोनाका कारण सात महिनादेखि हुम्लासँगका हिल्सा र लाप्चा नाका बन्द छन् । जसले गर्दा तिब्बतीय व्यापारीसँग मगाएका सामान पनि नाकामै रोकिएको उनले बताए ।

‘तिब्बतबाट केही आउन दिएको छैन । हाम्रो सामान पनि नाकामै रोकिएको छ,’ वडाध्यक्ष तामाङले भने, ‘अहिलेसम्म त जेनतेन चलेको थियो, अब नसकिने भयो ।’

समुद्री सतहबाट चार हजार एक सय मिटरको उचाइमा रहेको लिमी उपत्यकामा तीन गाउँ तिल, जाङ र हल्जीमा एक सय ८० परिवार बस्छन् । तीनै गाउँमा जौ र उवा मात्रै फल्छ, अन्य खाद्यान्न उत्पादन हुँदैन । स्थानीयले फापर र आलु पनि उत्पादन गर्छन्, जसले बढीमा ६ महिना धान्ने गरेको छ । ‘स्थानीय उत्पादनले बढीमा ६ महिना पुग्छ, त्यसपछि तिब्बतबाट ल्याउने गरेका थियौँ,’ उनले भने ।

त्यसैले चार दिन हिँडेर चामलका लागि सदरमुकाम पुगेको स्थानीय टर्सीफुबु लामाले बताए । उनीहरू गाउँबाटै बन्दोबस्तीका सामान बोकेर आएका हुन् । ‘गाउँबाटै खानपिन र बाटोमा वास बस्दा ओड्ने–ओछ्याउने कपडा बोकेर आएका हौँ,’ उनले भने ।

उनीहरू पाँच हजार मिटरको उचाइमा रहेको न्यालु लेक पार गरेर सदरमुकाम पुगेका हुन् । लेकमा एक्लै आउँदा अप्ठ्यारो हुन सक्ने भएकाले समूहमा आएको उनको भनाइ छ ।

अब हिउँ पर्ने याम सुरु भएकाले समयमै खाद्यान्न ढुवानी नभए भोकै मर्नुपर्ने अवस्था आउने स्थानीय छिरिङमुटुप तामाङले बताए । लिमी उपत्यकामा कात्तिक मध्यतिरबाट हिउँ पर्न थाल्छ, जसले गर्दा नेपालतिरको गोरेटो बाटो बन्द हुने गरेको उनले बताए । त्यसपछि ढुवानी गर्न नसकिने भएकाले तत्काल खाद्यान्न व्यवस्था गर्न माग गर्दै आएको उनको भनाइ छ ।

लिमीबाट आएको टोलीले बिहीबार र शुक्रबार जिल्लाका राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख तथा सरोकारवालासँग भेटघाट गरेको छ । सबैलाई तत्काल खाद्यान्नको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेको वडाध्यक्ष तामाङले बताए ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी जिल्ला शाखा हुम्लाका प्रमुख रामबहादुर विष्टले स्थानीय बासिन्दा डेलिगेसन आएको र खाद्यान्न आपूर्तिका लागि पहल भइरहेको बताए । केही दिनमै लिमीमा खाद्यान्न आपूर्ति गरिने उनको भनाइ छ । ‘छिटै खाद्यान्न आइपुग्छ, लिमीवासी आत्तिनु पर्दैन,’ उनले भने ।

हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद छक्कबहादुर लामाले खाद्यान्न आपूर्तिका लागि पहल गरिरहेको बताए । काठमाडौंमा रहेका उनले सम्बन्धित मन्त्रालय र निकाय धाइरहेको बताए ।

नाका खोल्न सरकारले पहल नगरेको वाणिज्य संघको गुनासो
अन्तर्राष्ट्रिय व्यापारिक नाका सात महिनादेखि बन्द हुँदा पनि सरकारले पहल नगरेको उद्योग वाणिज्य संघ, हुम्लाले जनाएको छ ।

जसले गर्दा व्यवसाय पनि संकटमा परेको वाणिज्य संघका अध्यक्ष नामग्याल तामाङले बताए । ‘अरूका लागि नभए पनि चीनमा निर्भर सीमा क्षेत्रका जनताका लागि नाका खुलाउन सरकारले पहल गर्नुपर्ने हो,’ अध्यक्ष तामाङले भने, ‘सरकारले पहल नगर्दा जनता भोकै बस्नुपर्ने अवस्था आएको छ ।’

हुम्लामा कोरोना संक्रमण नफैलिएको र चीनको सीमा क्षेत्रमा पनि संक्रमण नभएको उनले बताए । जसले गर्दा हिल्सा नाका खोल्न पटक पटक आग्रह गरेको संघले जनाएको छ । स्थानीय प्रशासनमार्फत गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा माग गर्दा पनि सरकारले चासो नदिएको उनको गुनासो छ ।

लिमी–६ का वडाध्यक्ष पाल्जोर तामाङ भन्छन्–जनता भोकै छन्, टुलुटुलु हेरेर बस्न सकिनँ
कोरोना भाइरसको महामारीका कारण तिब्बतसँगको दुवै नाका सात महिनादेखि बन्द छन् । उताबाट खाद्यान्न नआउँदा चार महिनादेखि लिमीमा खाद्यान्न संकट आएको छ । गत वर्ष तिब्बतबाट ल्याएको खाद्यान्नले अहिलेसम्म जेनतेन धानेका थियौं, अब नसकिने भयो ।

अब रोगले भन्दा भोकले भर्ने भयौं । जनता हरेक दिन खाद्यान्न छैन भन्दै मकहाँ आउने गरेका छन् । गाउँमा जनता भोकभोकै छन् । टुलुटुल हेरेर बस्न सकिनँ । त्यसैले चार दिन पैदल हिंडेर सदरमुकाम पुगेको हुँ । कात्तिकमा हिउँ पर्छ, बाटो बन्द हुन्छ ।

त्यसपछि नेपालबाट खाद्यान्न ढुवानी गर्न सकिँदैन । लिमीका जनता भोकले मर्नुबाहेक अर्को विकल्प रहन्न । त्यसैले, अहिले नै जतिसक्दो चाँडो खाद्यान्न ढुवानी गरिदिन प्रदेश र संघीय सरकारसँग आग्रह गर्दछु । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७