बिपी प्रतिष्ठानमा कोरोनाले थप एकको मृत्यु, चतराको प्राथमिक स्वास्थ्य केन्द्र सम्पूर्ण सेवा बन्द


२६ आश्विन २०७७, सोमबार
2020 10 11 Corona dead body

धरान, २६ असोज । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ । प्रतिष्ठानका प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको आइतबार राति ११ः०० बजे निधन भएको हो ।

उच्च रक्तचापका बिमारीसमेत रहेका वृद्धलाई यही असोज २३ गते कोभिड अस्पताल भर्ना गरिएको उनले बताए । शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । आइतबार बिहान दुई जनाको मृत्यु भएको थियो ।

कर्मचारी सङ्क्रमित भएपछि स्वास्थ्य केन्द्रको सेवा बन्द

बराहक्षेत्र नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चतराको सम्पूर्ण सेवा बन्द गरिएको छ । तीन महिला कर्मचारीसहित पाँच जनालाई कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य केन्द्रको सेवा आइतबारदेखि बन्द गरिएको हो ।

शुक्रबार छ जनाको स्वाब सङ्कलन गरेर पिसीआर गरिएकामध्ये तीनजना कर्मचारीलाई पोजेटिभ देखिएको स्वास्थ्य केन्द्रका प्रमुख डा अनिल गिरीले जानकारी दिए । अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको डा गिरीले जानकारी दिनुभएको छ । सो स्वास्थ्य केन्द्रबाट बराहक्षेत्र, उदयपुरका बेलका नगरपालिका, धनकुटाको शहीदभूमि गाउँपालिका र भोजपुरको हतुवागढी गाउँपालिकाका केही क्षेत्रका जनताले सेवा लिँदै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७