सरकारले फेरि घटायो कोरोना परीक्षण शुल्क


२७ आश्विन २०७७, मंगलवार
pcr test mechine 20200609042536

काठमाडौं, २७ असोज । सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएको छ । परीक्षण शुल्क दुई हजार रुपैयाँबाट घटाएर एक हजार रुपैयाँमा झारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मङ्गलबार भएको नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. गौतमले पीसीआर परीक्षणको शुल्क अब बढीमा एक हजार रुपैयाँ मात्र लिन पाइने जानकारी गराएका हुन् । उनले परीक्षणको यो रकम समयानुकूल समायोजन हुँदै जाने पनि बताए ।

सरकारले कोरोना परीक्षणको रकम चौथो पटक घटाएको हो । पहिले पाँच हजार पाँच सय रुपैयाँमा हुने गरेको परीक्षण चार हजार चार सय रुपैयाँमा झारिएको थियो, फेरि त्यसलाई पनि घटाएर दुई हजारमा झारिएको थियो ।

यस्तै प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने बताएका छन् ।

यसैबीच सरकारले कोरोना भाइरसको जोखिम लगातार बढिरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । देशभरका सात सय ५३ वटै पालिकालकाई जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न–गराउन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७