काठमाडौंका १० स्थान कोरोनाको ‘रेड जोन’ मा


२८ आश्विन २०७७, बुधबार

काठमाडौं, २८ असोज । कोरोना भाइरस (कोभिड– १९)को संक्रमण तीव्र रूपमा बढिरहेका वेला काठमाडौं उपत्यकाका १० क्षेत्र ‘रेड जोन’मा परेका छन् । व्यापारिक क्षेत्रदेखि मानिसको चाप बढी हुने क्षेत्र ‘रेड जोन’मा परेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतको रोग नियन्त्रण महाशाखा र उच्चस्तरीय महामारी व्यवस्थापन केन्द्र (सिसिएमसी) ले हरेक हप्ता काठमाडौंको ‘रेड जोन’ क्षेत्रको मूल्यांकन गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तीन सयभन्दा माथि संक्रमित भएको क्षेत्र अर्थात् वडालाई ‘रेड जोन’ मा राखिएको छ ।

red zone2020 10 14 12 57 31

स्वास्थ्य अधिकारीहरूका अनुसार काठमाठौं महानगरपालिकाभित्र कोरोना नियन्त्रणभन्दा बाहिर गएको छ । महानगरका ३२ वडामध्ये वडा नं. १५ स्वयम्भू, वडा नं. १६ सोह्रखुट्टे, वडा नं. ३२ कोेटेश्वर, वडा नं. १४ कलंकी, वडा नं. ३ महाराजगन्ज, वडा नं. १३ कालिमाटी, वडा नं. ११ त्रिपुरेश्वर, वडा नं. ९ गौशाला, वडा नं. १० बानेश्वर र वडा नं. २६ लैनचौर ‘रेड जोन’मा छन् । यी वडामा तीन सयभन्दा माथि संक्रमित छन् ।

अन्य स्थानीय तहको तुलनामा काठमाडौं महानगरभित्र कोरोना तीव्र रूपमा बढेको मन्त्रालयले जनाएको छ । मंगलबार मात्रै काठमाडौं उपत्यकामा एक हजार सात सय ४६ जनामा संक्रमण देखिएको छ । २५ असोजसम्मको तथ्यांकअनुसार उपत्यकामा संक्रमितको संख्या ३२ हजार ६ सय तीन पुगेको छ ।

जसमध्ये महानगरभित्र १५ हजार पाँच सय ५३ जना छन् । उनीहरूमध्ये सक्रिय संक्रमित सात हजार ६ सय ९९ छन् भने अस्पतालमा सात सय ६२, संस्थागत आइसोलेसनमा ६ सय ८८ र होम आइसोलेसनमा ६ हजार दुई सय ४९ छन् ।

संक्रमितको सम्पर्कमा आएका १८ हजार ६ सय ८४ जनाको नमुना परीक्षण गर्दा दुई हजार आठ सय ६६ जना कोरोना पुष्टि भएको छ । कोरोनाको ‘रेड जोन’मा रहेका महानगरका १० वडामा मात्र आठ हजार तीन सय १० संक्रमित छन् ।

उनीहरूमध्ये सक्रिय संक्रमितको संख्या चार हजार एक सय ७३ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । यो तीन दिनमा संक्रमितको संख्या अझै बढेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका अन्य स्थानीय तहले कोरोना संक्रमणलाई नियन्त्रणबाहिर जान नदिए पनि महानगरले नियन्त्रणमा लिन नसकेको बताए । ‘कोरोना नियन्त्रणमा काठमाडौं महानगरपालिकाको भूमिका देखिएन, जसले महानगरपालिकाभित्रका केही स्थानमा नियन्त्रणबाहिर गयो,’ प्रवक्ता डा. गौतमले भने ।

त्यस्तै, ‘रेड जोन’ मा परेका वडालाई ‘सिल’ गरेर परीक्षण तीव्र बनाउनुपर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । तर, सरकारले ‘सिल’ नगर्दा अन्य क्षेत्रमा पनि जोखिम बढाएको उनीहरूको भनाइ छ । यसैगरी कन्ट्याक्ट ट्रेसिङको काम पनि रोग नियन्त्रण महाशाखा र स्थानीय तहले नगर्दा कोरोना नियन्त्रणमा आउन सकेको जनाएको छ ।

एकै दिन ३५ सय ५६ कोरोना

पछिल्लो २४ घन्टामा देशभर तीन हजार पाँच सय ५६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ भने कोरोनाबाट १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमितको संख्या एक लाख १५ हजार तीन सय ५८ पुगेको छ ।

सरकारले परीक्षण काठमाडौंकेन्द्रित बनाएको छ । पछिल्लो २४ घन्टामा १५ हजार पाँच सय ७७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

जसमध्ये बागमती प्रदेशमा १० हजार दुई सय ८७ वटा नमुना परीक्षण गरिएकोमा दुई हजार पाँच सय ३० जनामा संक्रमण पुष्टि भएको छ । यसमा धेरैजसो काठमाडौं उपत्यकाको रहेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७