प्रदेश-१ मा २४ घण्टामै थप ६५४ जनामा कोरोना संक्रमण, नौ जनाको मृत्यु


३० आश्विन २०७७, शुक्रबार
korona

विराटनगर, ३० असोज । पछिल्लो २४ घण्टामा प्रदेश–१ मा कोरोना सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेह्रथुमका दुई–दुई जना रहेका छन् । योसँगै यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १२२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार ६४६ जनाको पिसीआर परीक्षणमा २४१ महिला र ४१३ पुरुष गरी कूल ६५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् ।

यसरी कोरोना सङ्क्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका २२५ सहित ३२६, सुनसरीका २०९, झापाका ७४, सङ्खुवासभाका नौ, उदयपुरका चार, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङका दुई–दुई जना तथा प्रदेश बाहिरका २४ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको संख्या १२ हजार २६९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३२६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या पाँच हजार ३३९ पुगेको छ । अहिलेसम्म एक लाख ४२ हजार ५२३ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७